शेयर बजारमा नयाँ रेकर्ड,एकैदिन ९ अर्बको कारोबार



काठमाडौं मंसिर १४ ।

शेयर बजारले दैनिक नयाँ रेकर्ड कायम गर्न थालेको छ ।

आइतबार पनि बजार परिसूचक र कारोबार दुवैमा कीर्तिमान कायम भएको छ । बजार परिसूचक नेप्से ७५ अंकले उकालो लागेर १९ सय ६८ मा पुगेको छ । यो हालसम्मकै उच्च हो । विहीबार १८ सय ८१ को रेकर्ड कायम भएको थियो । यस्तै, कारोबारमा पनि उछाल आएको छ ।

आइतबार नेपाल स्टक एक्सचेन्जमा सवा ९ अर्बको उच्च कारोबार भएको छ । बैंकिङ र जीवन बीमा समूहमा उच्च बृद्धि आएसंगै नेप्से उचालिएको हो । जीवन बीमा समूहमा सबैभन्दा उच्च २ सय ४५ अंकको बृद्धि आयो । विकास बैंक समूह १ सय ७२ अंक अनि वाणिज्य बैंक समूहमा पनि १ सय १२ अंकको बृद्धि आयो ।

जलविद्युत र वित्त समूह पनि दोहोरो अंकले उकालो लागे । निर्जीबन बीमा, उत्पादनमूलक, व्यापार र होटल समूह भने ओरालो लागे । आइतबार लगानीकर्ताहरु बैंकिङ समूहमा सबैभन्दा धेरै आकर्षित भएका छन् । बैंकहरुको शेयरमा खरीदचाप बढ्दा २७ वटा वाणिज्य बैंकमध्ये अधिकांश बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ । विकास बैंकहरुको शेयरमा पनि लगानीकर्ताको आकर्षण बढी देखिएको छ ।

यस दिन नेपाल स्टक एक्चसचेन्जमा २ सय कम्पनीको २ करोड ५९ लाख बढी कित्ता शेयर ९ अर्ब २२ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्