सोमबार एकैसाथ सातवटा अस्पतालको शिलान्यास हुने



काठमाडौं मंसिर १४ ।

सोमबार देशभर एकैसाथ सातवटा सरुवारोग अस्पताल तथा आधारभूत अस्पतालको शिलान्यास हुने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार मंसिर १५ मा अस्पताल नभएका विभिन्न स्थानीय तहमा जनसंख्या, बिरामीको दर, आवश्यकता तथा क्षमताका आधारमा ५, १० र १५ शैय्याका अस्पतालको शिलान्यास गरिने कार्यक्रम छ ।

मन्त्रालयबाट आधारभूत अस्पताल भवन निर्माणसम्बन्धी निर्देशिका २०७७ जारी भई अस्पतालको विवरण प्राप्त भइसकेको र बजेट पठाइसकिएको डा. अधिकारीले जानकारी दिए ।आधारभूत अस्पताल निर्माण गरिने ३९६ स्थानीय तहमध्ये जग्गा प्राप्त भएका सबै अस्पतालको सोमबार एकैसाथ शिलान्यास गर्न र जग्गा प्राप्त नभएकालाई स्थानीय तहले यथाशिघ्र जग्गाको व्यवस्था गर्न मन्त्रालयले भनेको छ ।

सरुवारोग अस्पतालको हकमा भने सातै प्रदेशमा एक–एक वटा अस्पतालको शिलान्यास गरिनेछ। सहप्रवक्ता अधिकारीका अनुसार प्रदेश १ मा सुन्दरहरैंचामा, प्रदेश २ मा बारामा, बागमती प्रदेशमा भरतपुरमा, गण्डकीमा पोखरामा, लुम्बिनीमा कपिलवस्तुको चन्द्रौटामा, कर्णाली प्रदेशमा सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको डोटीमा सरुवारोग अस्पतालको शिलान्यास गरिँदैछ ।

भदौ १३ गते स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल बनाउने निर्णय गरेका थिए।

प्रतिक्रिया दिनुहोस्