सरकार निजी क्षेत्रको साथ लिएर अघि बढ्छ : अर्थमन्त्री पौडेल



काठमाडौं मंसिर १४ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार निजी क्षेत्रको साथ लिएर अघि बढ्ने बताएका छन् ।

नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्। सरकार निजी क्षेत्रको साथमा रहेको बताउँदै कोभिड–१९ का कारण सिर्जित प्रतिकूलताका बावजुद पनि उच्च मनोबलका साथ काम गर्न अर्थमन्त्री पौडेलले आग्रह गरेका हुन्।

अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन र प्रवर्धन गर्ने बताए। उनले नीति नियम बनाउँदादेखि कार्यान्वयनको तहसम्म निजी क्षेत्रको फिडब्याक लिएर काम गर्ने विश्वास दिलाए। निजी क्षेत्रले अघि सारेका माग तथा विषयलाई सम्बोधन गर्नका लागि निरन्तर दोहोरो संवादमा रहने पौडेलले बताए।

उद्योगी तथा व्यावसायीहरुलाई सहयोग तथा प्रोत्साहनका लागि सरकारले पुनर्कर्जा, व्यावसायी निरन्तरता कर्जालगायतका कार्यक्रमहरु ल्याएको भन्दै अर्थमन्त्री पौडेलले तिनीहरुको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिने आश्वासन दिएका हुन्।

अर्थमन्त्री पौडेलले स्रोतको सीमितताभित्र रहेर काम गर्ने स्पष्ट पार्दै सरकारले उद्योगी व्यावसायी र उद्योगी व्यावसायीले सरकार भएर सोच्न आवश्यक भएको र सोहीअनुसार काम गर्दा महत्वपूर्ण उपलब्धी हासिल गर्न सकिने धारणा व्यक्त गरेका थिए।

नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले कोभिड–१९ ले सिर्जना गरेका समस्यालाई सम्बोधन गर्न, चालू आर्थिक वर्षको बजेटमा उल्लेख गरिएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने लगायतका सुझाव दिएका थिए। आइतबार परिसंघ पदाधिकारी र अर्थमन्त्रीबीच भेटवार्ता भएको हो।

प्रतिक्रिया दिनुहोस्