कालिमाटीमा तरकारीको आयात बढ्यो



काठमाडौं, मंसिर १५। कालीमाटी फलफूल तथा तरकारी बजारमा पछिल्लो समय तरकारी आपूर्ति बढ्न थालेको छ । बन्दाबन्दी शुरू भएदेखि नै घटेको तरकारीको आपूर्ति बन्दाबन्दी खुलेको लामो समय बितिसक्दा समेत पनि बढ्न सकेको थिएन । तर विगत एक सातादेखि आपूर्ति प्रणालीमा विस्तारै सुधार आउन थालेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बन्दाबन्दी शुरू भएपछि कालीमाटीमा दैनिक ३०० देखि ४०० टन मात्र तरकारी भित्रिने गरेको थियो । गत सोमवारदेखि आपूर्तिमा सुधार भएको छ ।

समितिका अनुसार गत मङ्सिर ८ गते ६००, ९ गते ६५९, १० गते ६००, ११ गते ६००, १२ गते ५००, १३ गते ६३३ टन तरकारी तथा फलफूल भित्रिएको छ । सामान्य अवस्थामा कालीमाटीमा दैनिक ७–८ सय टनसम्म तरकारी र फलफूल भित्रिने गरेको समितिको तथ्यांक छ । गत कात्तिक ८ गते कालीमाटीमा जम्मा २ सय ९६ टन तरकारी भित्रिएको थियो ।

विकास समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले तिहारपछि तरकारी तथा फलफूलको आपूर्तिमा सुधार हुँदै गएको बताए । उनका अनुसार तिहारपछि कालीमाटीमा काउली, गोलभेँडा, आलु लगायत तरकारी भित्रिने क्रम बढेको छ ।

बन्दाबन्दीको समयमा काठमाडौं छाडेर बाहिर गएका मानिस तिहार र छठ सकिएलगत्तै काठमाडौं प्रवेश गर्ने दर बढेकाले आफूहरूले पनि तरकारीको आपूर्ति बढाएको व्यवसायीले बताएका छन् । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आचार्यले तिहारपछि तरकारीको खपत बढेसँगै आपूर्ति पनि बढाइएको बताए । आपूर्ति बढ्नुको अर्को कारण आन्तरिक उत्पादन बढ्नु पनि रहेको उनको भनाइ छ ।

बन्दाबन्दीका कारण लामो समयसम्म होटल, रेष्टुराँ, स्कुल, कलेज तथा होस्टेलहरू बन्द हुँदा तरकारी खपत घटेको थियो । यद्यपि हाल यो अवस्थामा सुधार हुँदै गएको बताइएको छ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्