नुवाकोटको पञ्‍चकन्यामा १० शय्याको अस्पतालको शिलान्यास



पन्चकन्या गाउँपालिकाअन्तर्गत घलेभञ्ज्याङ नजिक १० शय्याको अस्पताल भवन शिलान्यास गर्दै नुवाकोट निर्वाचन क्षेत्र न. १ बाट निर्वाचित संघीय सांसद हितबहादुर तामाङ, विशेष अतिथि वाग्मती प्रदेश उपसभामुख राधिका तामाङ र गाउँपालिका प्रमुख तेजबहादुर तामाङ, उपप्रमुख सीता पराजुली लगायत

घलेभन्ज्याङ (नुवाकोट) मंसिर १५ । जिल्लाको पञ्‍चकन्या गाउँपालिकामा सोमबार १० शय्याको अस्पताल भवनको शिलान्यास गरिएको छ ।

पन्चकन्या गाउँपालिकाअन्तर्गत वडा नं ३ घलेभञ्ज्याङ नजिक १० शय्याको अस्पताल भवन शिलान्यास नुवाकोट निर्वाचन क्षेत्र न. १ बाट निर्वाचित सांसद हितबहादुर तामाङ, विशेष अतिथि वाग्मती प्रदेश उपसभामुख राधिका तामाङले गरेका हुन् ।

शिलान्यास कार्यक्रममा गाउँपालिका प्रमुख तेजबहादुर तामाङ, उपप्रमुख सीता पराजुली, प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनी, गाउँपालिकाका विभिन्‍न शाखा प्रमुख तथा कर्मचारीहरुसहित स्थानीयको उपस्थिति थियो ।

गाउँपालिका कार्यालयको प्राङ्गणमा आयोजित औपचारिक कार्यक्रममा सम्बोधन गर्दै सांसद तामाङले अस्पतालको निर्माण सकिएसँगै स्थानीय लाभान्वित हुने बताए । उनले अहिले आधारभूत तबरको अस्पताल भए पनि यसलाई विस्तार गर्न पहल गर्ने आश्‍वासन दिए ।

वाग्मती प्रदेश उपसभामुख राधिका तामाङले २०७२ सालको भूकम्पले एकखालको शिक्षा सिकाएको र कोरोना महामारीले अर्को शिक्षा दिएको अवस्थामा यो अस्पताल निर्माण गर्ने स्थितिमा आएकौ बताइन् । उनले यो अस्पताल बनेपछि पञ्चकन्याले मात्र नभई दुप्चेश्वर र शिवपुरी गाउँपालिकाका लेकसाइडका जनतालाई पनि सेवा पुग्ने बताइन् ।

गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले गाउँपालिकाको केन्द्र भागमा बन्न लागेको यो अस्पताल निर्माण समयमै सम्पन्न गरी संचालनमा ल्याउने प्रतिबद्धता जनाए । यसका लागि प्रदेश र केन्द्रको प्रतिनिधिले साथै गाउँपालिकावासीलाई सहयोग गर्न अनुरोध गरे ।

सरकारले चालु आर्थिक वर्षमा एकैसाथ ३ सय ९६ स्थानीय तहमा १५ शय्याको अस्पताल बनाउने योजना अनुसरुप सोमबार करिब २ सय ५० पालिकामा शिलान्यास कार्यक्रम राखिएका छन् । नुवाकोटका शिवपुरी, तारकेश्वर, ककनी लगायत पालिकामा पनि अस्पताल शिलान्यास गरिएको छ ।

सबै स्थानीय तहमा ५ देखि १५ शय्यासम्मका आधारभूत अस्पताल बनाउने सरकारको निर्णयअनुसार यसलाई नीति तथा कार्यक्रममा समावेश गरिएको थियो । अहिले ७ सय ५३ पालिकामध्ये १ सय ४ वटामा मात्रै विभिन्न तहका अस्पताल छन् ।

तत्कालै ५ शय्याको अस्थायी अस्पताल सञ्चालनका लागि पालिकामा १०/१० लाख बजेट पठाइसकिएको र त्यो कार्यान्वयनको चरणमा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । पालिकालाई यस वर्ष आंशिक र आगामी वर्ष बाँकी रकम पठाउने सरकारको तयारी छ । उनले पालिकाले जग्गा व्यवस्थापन गरिसकेका स्थानहरूमा सोमबार र अन्यमा एक साताभित्र अस्पतालको शिलान्यास गरिने बताएका छन् ।

तस्बिरहरु सौजन्य : वाग्मती प्रदेश उपसभामुख राधिका तामाङकी स्वकीय सचिव एलिसा थापा ।

प्रतिक्रिया दिनुहोस्