मकवानपुरका पाँच स्थानीय तहमा अस्पताल शिलान्यास



मकवानपुर,मंसिर १६ । मकवानपुरको पाँच स्थानीय तहमा अस्पताल शिलान्यास गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको लगानीमा जिल्लाका पाँच स्थानीय तहमा पाँचदेखि १५ शैयाको अस्पताल भवनको छुट्टाछुट्टै शिलान्यास गरिएको हो ।

जिल्लाको थाहा नगरपालिका र मनहरी गाउँपालिकामा १५/१५ शैयाको अस्पतालको शिलान्यास भएको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ ।

यस्तै जिल्लाको कैलाश र राक्सिराङ गाउँपालिकामा १०/१० शैयाको र इन्द्रसरोवर गाउँपालिकामा पाँच शैयाको अस्पताल भवनको शिलान्यास गरिएको हो ।

सङ्घीय सरकारको लागनीमा निर्माण गर्न लागिएको ती अस्पतालका लागि चालू आर्थिक वर्ष ०७७/७८ मा थाहामा रु एक करोड, मनहरीमा रु ८५ लाख, राक्सिराङ तथा कैलाशमा रु ८५ लाख र इन्द्रसरोवर गाउँपालिकामा ७० लाख बजेट विनियोजित भइसकेको समितिका प्रमुख रघुनाथ खुलालले जानकारी दिए ।

थाहा र मनहरीमा निर्माण गर्न लागिएको अस्पतालका लागि कूल १८ करोड ६ लाख ८२ हजार ,कैलाश र राक्सिराङमा १० करोड ८३ लाख ३६ हजार तथा इन्द्रसरोवरमा रु सात करोड ११ लाख ९८ हजार लागत अनुमान गरिएको छ ।

थाहा नगरपालिकाका प्रमुख लबशेर विष्टले अस्पताल निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन निर्माणको काम सम्पन्न भइसकेको र हप्ता दिनभित्रै बोलपत्र आह्वान गरी निर्माणको कामलाई तीव्रता दिइने जानकारी दिए ।

यसैगरि मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले मनहरी प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पतालका रुपमा निर्माण गर्न सङ्घीय सरकारले बजेट विनियोजन गरेको भए पनि गाउँपालिकाले ५० शैयाको अस्पताल निर्माण गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्