तीन हजार किलोमिटर सडक मर्मत गरिदै



काठमाडौं, मंसिर १६ । मुलुकभरको गरी तीन हजार तीन सय किलोमिटर सडक मर्मत गरिनेभएको छ । ‘समृद्ध नेपालका लागि सडक, रेल तथा यातायातको विकासको पाँच वर्षे महत्वाकाङ्क्षी रणनीतिक योजना’ अन्तर्गत मर्मतको काम थालिएको हो ।

रणनीतिक योजना अन्तर्गत मुलुकको मुख्य सडकको मर्मत कार्य अगाडि बढाइएको सडक विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले जानकारी दिए । उनले मर्मत कार्यक्रम अन्तर्गत बढी ट्राफिक चाप हुने प्रमुख राजमार्ग (कोर रोड नेटवर्क) का सडकमा मर्मत गरिनेछ ।

यस कार्यक्रमका लागि नीतिगत रूपमा सरकारबाट स्वीकृति प्राप्त भइसकेको छ । कार्यक्रमका लागि सडकको समेत छनोट भइसकेको र त्यसमा मुलुकका सबै प्रमुख राजमार्ग परेको उनले बताए। कम्तीमा दैनिक दुई हजार व्यक्ति आवतजावत गर्ने सडकलाई ‘कोर रोड नेटवर्क’ भन्ने गरिन्छ ।

उनका अनुुसार विश्व बैङ्कको ऋण सहयोगमा रणनीतिक सडक कनेक्टिभिटी र व्यापार सुधार परियोजना .स्टार्टिजिक रुट कनेक्टिभिटी एन्ड ट्रेड इम्प्रुभमेन्ट प्रोजेक्ट, एसआरसीटीआईपी) कार्यक्रम अन्तर्गत तीन हजार तीन सय किलोमिटर सडकको आवधिक मर्मत कार्य सुरु गर्न लागिएको हो ।

यस कार्यक्रम अन्तर्गत पूर्व–पश्चिम राजमार्ग, अरनिको राजमार्ग, बीपी राजमार्ग, सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग, मेची राजमार्ग, कोसी राजमार्ग लगायत मुलुकका प्रमुख सबै राजमार्गको मर्मत गरिने भएको छ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्