काठमाडौं महानगरपालिकाद्वारा स्वाब संकलनमा तीव्रता



काठमाडौं मंसिर १६ ।

काठमाडौं महानगरपालिकाले पीसीआर परीक्षणका लागि नागरिकको घरघरमा गएर स्वाब संकलनको कामलाई तीव्रता दिएको छ । उपत्यकामा संक्रमणको दर बढ्दै गएपछि महानगरले मोबाइल भ्यानमार्फत् घरघरमा गएर स्वाब संकलनको कामलाई तीव्रता दिएको हो ।

कोरोना पोजेटिभ देखिएका व्यक्तिहरुको ट्रेसिङमा परेका र अस्पतालसम्म परीक्षणका लागि जान नसक्ने नागरिकहरुको स्वाब संकलन महानगरले गरिरहेको छ । महानगरले कन्ट्याक ट्रसिङमा परेका र लक्षण देखिएका, अस्पताल जान नसक्ने अवस्थाका जेष्ठ नागरिक र असहायहरुको स्वाब संकलन गरिरहेको महानगरको स्वाब संकलन कार्यक्रमका संयोजक ऋषि भुसालले बताए।

महानगरले मोबाइल भ्यानमार्फत् स्वाब संलकन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका लागि पठाउने गरेको भुसालले बताए । ११ नम्बर वडाका सहायक सचिव सर्वज्ञराज पौडेलले वडाहरुमा ट्रेसिङमा परेका व्यक्तिहरुको तथ्याङ्क संकलन गरी महानगरको जनस्वास्थ्य विभागको समन्वयनमा स्वाब संकलन भइरहेको बताए।

उनले संक्रमणको दर बढिरहेकाले अनावश्यक रुपमा घर बाहिर ननिस्किन पनि सर्वसाधारणहरुलाई आग्रह गरे । काठमाडौंमा दिनदिनै संक्रमितहरुको संख्या बढिरहेकाले महानगरपालिकाले निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलनलाई तीव्रता दिएको हो ।

प्रतिक्रिया दिनुहोस्