अध्यक्ष प्रचण्डलाई प्रस्ताव फिर्ता लिन दबाब, नलिने अडान यथावत



काठमाडौं मंसिर १६ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डलाई आफ्नो प्रस्ताव फिर्ता लिन दबाब परेको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उनलाई प्रस्ताव फिर्ता लिन दबाब दिएका हुन् । सचिवालयका बहुमत सदस्यले भने बैठकमा पेश भइसकेको प्रस्ताव कुनैपनि हालतमा फिर्ता नहुँने अडान लिएका छन् । प्रस्तावमाथि बैठकमै छलफल हुन्छ र निर्णय पनि बैठकबाट नै हुन्छ’ सचिवालय सदस्य तथा वरिष्ठ नेता झलनाथ खनालले भने ।

वरिष्ठ नेता खनालका अनुसार प्रचण्डको प्रस्ताव फिर्ता नभई बैठकमै छलफल गर्नुपर्नेमा सचिवालयका बहुमत सदस्यको समर्थन रहेको छ । प्रस्तावमा सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम तथा नारायणकाजी श्रेष्ठले समर्थन गरेका छन् ।

त्यस्तै सदस्यद्वय ईश्वर पोख्रेल र रामबहादुर थापाले दुबै प्रस्तावमाथि छलफल गर्नुपर्ने धारण राखेका छन् । तर पार्टी महासचिव तथा अर्थमन्त्री समेत रहेका अर्का सदस्य विष्णु पौडेलले भने प्रचण्डको प्रस्ताव फिर्ता नलिए पार्टी भित्र गम्भीर संकट सिर्जना हुने जिकिर गर्दै कुनैपनि हालतमा फिर्ता गर्नुपर्ने अडान राखेका बताइएको छ ।

प्रधानमन्त्री ओलीले विगतमा भएका सहमती भुलेर पार्टीको पद्दती विपरित एकलौटी ढंगले पार्टी चलाउन खोजेको, यसबारेमा पटकपटक सचेत र अनुरोध गर्दा पनि प्रधानमन्त्रीले नटेरेकाले प्रस्ताव ल्याउनु परेको प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्