कैलालीमा धान किन्न बोरा अभाव



कैलाली, मंसिर १८। कैलालीमा सरकारी दरभाउमा खाद्य डिपोमा धान बेच्न पाउँदा किसान खुसी भए पनि बेच्नका लागि सास्ती खेप्नुपरेको दुःखेसोे पनि गरेका छन् ।

टीकापुर नगरपालिका–८, सूर्यपुरका किसान धनसिंह साउदले सरकारले धानको उचित भाउ दिए पनि बोराको अभावले अहिलेसम्म धान बिक्री गर्न नसकेको बताए ।

३५ बिघा जग्गामा उत्पादन भएको धानमध्ये अहिलेसम्म जम्मा छ ट्राली धान बेचेको बताउँदै साउदले धान बिक्री डिपोबाट बोरा छैन भन्दै फर्काएकाले बाँकी धान घरमै राख्न बाध्य भएको सुनाए ।

कहिले बोरा आउला र धान बेचौँला भनेर बसेका साउदले भने, “छ÷सात ट्राली धान बेच्न बाँकी छ । कहिले भुस छ भन्छन्, कहिले बोरा छैन भन्छन् । भजनी धान बेच्न लगेँ, त्यहाँ पनि बोरा सकिएको छ भनेपछि अहिले घरमै ल्याएर राखेको छु । ” धनसिंह जस्ता ठूला किसान मात्र होइन अहिले खाद्यले सञ्चालन गरेको धान खरिद डिपोमा धान बेच्न जाने साना किसानसमेत रातदिन नभनेर धान बेच्न पालो कुरिरहेका छन् ।

टीकापुर नगरपालिका–७ का अर्का किसान भीम महरले सत्ती खाद्य डिपोमा किसानहरू धान बिक्रीका लागि ट्याक्टरमा तीन दिनदेखि रातभर लाइनमा बसेको बताउन्छन् । एउटा मात्र काँटा भएकाले र बोराको अभावले पनि खरिद गर्ने कार्य ढिलाइ भएको महरले जिकिर गरेका छन् ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्