कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालयबाटै, परीक्षा समय ३ घण्टा



काठमाडौं, मंसिर १९ । राष्ट्रिय परिक्षा बोर्डले यस पटकबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार विद्यालयलाई दिएको छ । कोरोना सङ्क्रमणका कारण यस पटकबाट कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार विद्यालयलाई दिइएको भए पनि अब त्यो अधिकार सधैँका लागि विद्यालयलाई नै हस्तान्तरण गरिएको जानकारी बोर्डले दिएको छ । यसअघि कक्षा ११ को अन्तिम परीक्षा राष्ट्रियस्तरमा नै बोर्डले नै सञ्चालन गर्ने गरेको थियो ।

ग्रेडवृद्धिको परीक्षा चल्दै

यसका साथै कक्षा ११ मा ग्रेडवृद्धिको परीक्षासमेत हाल विद्यालयहरूले सञ्चालन गरिरहेका छन् । केही विद्यालयले भने यसअघि नै परीक्षा लिई सकेको पाइएको छ । ललितपुर, काठमाडौँ र भक्तपुरका धेरै विद्यालयले संयुक्त रूपमा मङ्सिर २१ गतेदेखि सञ्चालन गर्दैछन् । ती विद्यालयले नियमित र ग्रेडवृद्धिका विद्यार्थीको परीक्षा एकै पटक सञ्चालन गर्न लागेका हुन् ।

तीन घण्टाकै परीक्षा

कक्षा ११ को परीक्षा तीन घण्टाकै सञ्चालन हुनेछ । यसका साथै एक सय पूर्णाङ्कको नै परीक्षा हुनेछ । यस पटक कक्षा १२ को परीक्षामा ४० पूर्णाङ्क र डेढ घण्टामा परीक्षा लिइए पनि कक्षा ११ का विद्यार्थीलाई भने त्यो सुविधा दिइएको छैन । कक्षा ११ को परीक्षा सञ्चालनसम्बन्धी कार्यविधि यस पटक मात्रै नभई दीर्घकालीन रूपमा हेरर निर्माण गरिएका कारण तीन घण्टाको परीक्षा र सय पूर्णाङ्ककै परीक्षा लिने गरी व्यवस्था गरिएको बताइएको छ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्