कोरोना बीमा तीन दिनभित्र भुक्तानी गर्न निर्देशन



काठमाडौं, मंसिर १९ । कोरोना बीमाको तोकिएको समयमा भुक्तानी नभएपछि अर्थ मन्त्रालयले ३ दिनभित्र भुक्तानी गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । यसअघिको निर्देशन पालना नभएपछि अर्थ मन्त्रालयले पुनः यस्तो निर्देशन दिएको हो ।

अर्थ मन्त्रालयले बीमा समितिमार्फत यस्तो निर्देशन दिएको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । अब यस सम्बन्धमा बीमा समितिले बीमा कम्पनीहरूका लागि छुट्टै निर्देशन जारी गर्नुपर्ने हुन्छ ।

कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ भएपछि अर्थ मन्त्रालयले कात्तिक १८ गते बीमा समितिमार्फत ७ दिनभित्र भुक्तानी दिन निर्देशन दिएको थियो । तर, अझै पनि बीमा कम्पनीहरूले तोकिएको समयमा भुक्तानी दिएका छैनन् । त्यसपछि मन्त्रालयले अहिले ३ दिनभित्र नै दाबी भुक्तानी दिन निर्देशन दिएको बताइएको छ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्