नेकपा विवाद गम्भीर मोडमा, शीर्ष नेता आआफ्नै रणनीतिमा



काठमाडौं, मंसिर २० । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद बढ्दै गइरहेको बेला दुवै समूहका नेता सहमति गर्न छोडेर आआफ्नै रणनीतिमा अघि बढेपछि पार्टी गम्भीर संकटमा पुगेको छ । विवाद समाधानका लागि नेताहरूको दौडधूप बढेको भए पनि सहमति जुट्न सकेको छैन् । शीर्ष नेताहरू आआफ्नै अडानमा अडिग भएपछि नेकपाभित्रको विवाद झन्झन् गम्भीर बन्दै गइरहेको छ । विवाद समाधान गर्ने उद्देश्यले आज सचिवालय बैठक बोलाइएको भए पनि सहमति जुट्ने सम्भावना न्यून छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेस गर्दै एक अर्कालाई गम्भीर आरोप लगाएपछि विवादले उग्र रूप लिँदै आएको हो ।

विवाद समाधानका लागि भन्दै प्रधानमन्त्री ओली निकट रहेका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल शुक्रबार खुमलटार पुगेर अध्यक्ष दाहालसँग भेटघाट गरेका थिए । दाहालसँग भेटेको केही समय नबित्दै उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए ।

तीन सातायता ओली र दाहालबीच ‘वान टु वान’ छलफल नै नभएकाले उनीहरू आफू निकटका नेताहरूमार्फत संवाद गर्दै विवाद समाधानको प्रयास गरिरहेका छन् । यद्यपि विवाद समाधान हुने संकेत देखिएको छैन ।

यसअघि बिहीबार महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले दाहाललाई भेटेर सहमतिमार्फत समस्या समाधान गर्न आग्रह गरेका थिए ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्