यस वर्ष चिसो कम हुने अनुमान



काठमाडौं, मंसिर २१ । यस वर्षको हिउँदमा औसतभन्दा कम चिसो हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हिउँदमा सरदरभन्दा कम वर्षा हुने र सरदरभन्दा बढी सुक्खा र तातो हुने भएकाले कमचिसो हुने आकलन गरिएको हो ।

पश्चिमी वायुको सक्रियता यस वर्ष नेपालमा कम हुने भएकाले पनि हिउँदमा वर्षा र हिमपात विगतभन्दा कम हुने अनुमान गरिएको छ । त्यसैले पनि औसतभन्दा कम चिसोको अनुभूति यसपटक हुने अनुमान गरिएको हो। पश्चिमी वायुको प्रणाली दक्षिण एसियाको अफगानिस्तान, पाकिस्तान, भुटान, जम्मु–काश्मीर हुँदै नेपाल भित्रिने गर्छ । यी सबै क्षेत्रमा नै यस वर्ष अलिक सुक्खा र कम हिउँदे वर्षा रहने दक्षिण एसियाली जलवायु आकलन मञ्च (सास्कोफ)ले प्रक्षेपण गरिसकेको छ ।

सोही अनुसार नेपालको जल तथा मौसम विज्ञान विभागले पनि नेपालमा यस वर्षको चिसो सरदरभन्दा कम हुने सम्भावना सार्वजनिक गरेको हो । बेलायत, अमेरिका, युरोप लगायतका मुलुकले तयार पारेको जलवायु प्रारूप (मोडल)ले पनि दक्षिण एसिया क्षेत्रमा हिउँदमा हिमपात गराउने प्रणाली कम आउने देखाएको छ । जस अनुसार सरदरभन्दा बढी तातो र सुक्खा हुने र वर्षा सरदरभन्दा कम हुने पूर्वानुमान गरिएको छ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्