काठमाडौंको सबै विद्यालयमा सय पुर्णाङ्कको नेवारी भाषा अनिवार्य पढाई हुने



काठमाडौं, मंसिर २१ । काठमाडौं महानगरको सबै विद्यालयमा सय पुर्णाङ्कको नेवारी भाषा अनिवार्य पढाई हुने भएको छ। काठमाडौं महानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरुमा पठनपाठन गराउन नेपाल भाषा (नेवारी भाषा)को पाठ्यपुस्तक तयार गरेसंगै यसको प्रक्रिया अगाडि बढेको हो ।महानगरले कक्षा एकदेखि आठसम्म अनिवार्य विषयका रुपमा ‘येँ देय् म्हसीके’ नामक स्थानीय विषयको पाठ्यपुस्तक पठनपाठन गराउने भएको हो ।

नेपालको संविधानको भाग ३ धारा ३२ को उपधारा (२) र (३)मा मुलुकका हरेक स्थानीय तहबाट स्थानीय पाठ्यक्रमका रुपमा आफैले एक विषय अध्ययन अध्यापन गराउन सक्ने व्यवस्था भए अनुसार महानगरले सो पाठ्यक्रमको विकास गरेको हो । महानगरपालिकाका शिक्षा विभाग प्रमुख नवराज ढकालका अनुसार महानगरपालिका भित्रका सबै संस्थागत तथा सामुदायिक विद्यालयहरुमा नेवारी भाषा पढाइनेछ।

पाठ्यक्रममा महानगरभित्रका चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक र प्राकृतिक स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषयहरु समेटिएका छन् । काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपी, परम्परागत खेल जस्ता विषय समेत पाठ्यक्रममा समेटिएको ढकालले बताए ।

महानगरपालिका भित्र ९२ वटा सामुदायिक विद्यालय र ६ सय ४० वटा संस्थागत विद्यालयहरु रहेका छन् । ।

प्रतिक्रिया दिनुहोस्