सगरमाथाको उचाई मंगलबार घोषणा गरिने



काठमाडौ, मंसिर २१ । सरकारले सगरमाथाको उचाईं मंगलबार घोषणा गर्ने अन्तिम तयारी गरेको छ ।

सगरमाथाको उचाईं नापी विभागले घोषणा गर्ने तयारी गरेको विभागका सूचना अधिकारी दामोदर ढकालले बताए । तर घोषणा गर्ने औपचारिक मितिबारे सोमबार टुङ्गो लाग्ने विभागले उल्लेख गरेको छ । केही काम अझै बाकी नै रहेकाले मंगलबार नै औपचारिक घोषणा गर्ने निश्चित भने नरहेको उनले बताए।

मंसिर १० मा बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाईं घोषणा गर्न अनुमति दिएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आवश्यक तयारी शुरु गरेको थियो ।

गत वर्ष चीनका राष्ट्रपति सि चिङफिङको नेपाल भ्रमण क्रममा सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो । सोहीबमोजिम नेपाल र चीनका सरकारी टोलीले संयुक्त रूपमा सगरमाथाको उचाइ मापन कार्य शुरु गरेको थियो ।

नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनले सगरमाथाको उचाईं मापन गरेको हो । पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा सगरमथाको उचाइ मापन गरेको थियो । सो बेला कायम गरेको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर कायम रहेको थियो।

प्रतिक्रिया दिनुहोस्