विवादबीच स्थायी कमिटी बैठक, पार्टीभित्रको समस्या समाधान मुख्य एजेन्डा



काठमाडौं,मंसिर २२ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चर्किँदै आइरहेको विवादकै बीच आइतबार स्थायी कमिटीको बैठक बसेको छ । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएनन् । सो बैठकले पार्टीभित्र देखिएको समस्या र संकटको सही समाधान गर्ने विश्वास आम कार्यकर्ताले गरेका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रस्ताव अध्ययनका लागि स्थायी कमिटीका सदस्यहरूलाई दिइएको छ ।

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले पार्टीभित्रको समस्या र समाधानबारे छलफल गर्ने कार्यसूची पारित गरेको बताए । यस्तै यसअघिका सचिवालयमा पेस भएका अध्यक्षद्वय ओली र दाहालको राजनीतिक प्रस्ताव र पत्रसमेत स्थायी कमिटीका सदस्यलाई दिइएको उनले बताए ।अध्यक्ष दाहालले अहिलेको विशिष्ट, गम्भीर र संकटपूर्ण परिस्थितिमा पार्टी एकतालाई केन्द्रमा राखेर संकटलाई सकारात्मक ढंगले समाधान गर्ने गरी छलफल अघि बढाइने बताए । उनले छलफललाई गम्भीर र व्यापक रूपमा अगाडि बढाउन अपिल गरेका छन् ।

बैठकले अध्यक्षद्वयको प्रतिवेदन अध्ययन गर्न एक साताको समय दिएको छ । पार्टीभित्रको संकट समाधानका लागि आन्तरिक र अनौपचारिक छलफल तथा गृहकार्य जारी नै रहने प्रवक्ता श्रेष्ठले बताए । स्थायी कमिटीको बैठक २८ मंसिरमा बस्ने निर्णय भएको छ । बैठकले २५ मंसिरका लागि तोकिएको केन्द्रीय कमिटी बैठक अब ५ पुसमा बस्ने निर्णय गरेको छ । प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओली बैठकमा अनुपस्थित भएपछि बैठकको अध्यक्षता दाहालले गरेका थिए ।

बैठकको सुरुमै सविचालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री ओलीको पत्र पढेर सुनाएका थिए । पत्रमा ओलीले अध्यक्ष दाहालले पेस गरेको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा आउन नसक्ने जानकारी गराएका छन् ।

पत्रमार्फत प्रधानमन्त्री बैठकमा सहभागी भए : रावल

नेकपा स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली बैठकमा शशरीर उपस्थित नभए पनि उनी पत्रमार्फत सहभागी भएको बताएका छन् । ‘अध्यक्ष सशरीर उपस्थित नभए पनि बैठकमा पत्र पठाउनुभएको छ । पत्र पठाएपछि त सहभागी भएकै बुझिन्छ,’ रावलले भने ।

आगामी २८ मंसिरमा बस्ने स्थायी कमिटी र ५ पुसमा बस्ने केन्द्रीय कमिटी बैठकमा पार्टीभित्रको समस्या समाधान गर्न गम्भीर छलफल हुने बताउँदै उनले ती बैठकमा पार्टीमा उठेका विषयमा ‘बोल्ड’ निर्णय गर्ने बताए ।

‘पार्टीमा उठेका विषयमा बोल्ड निर्णय गर्छौं । पार्टीलाई अनिर्णयको बन्दी बनाउँदैनांै । छलफलका क्रममा लचकता अपनाउने ठाउँमा अपनाउँछौं तर यथोचित निर्णय गरेर जान्छौं,’ उनले भने ।

शर्माको विशेष प्रस्ताव

यसैबीच स्थायी कमिटी सदस्य जनार्दन शर्माले बैठकमा ‘विशेष प्रस्ताव’ पेस गरेका छन् । शर्माले पार्टी अध्यक्षद्वय ओली र दाहाललाई सम्बोधन गरेर पेस गरेको विशेष प्रस्तावमा सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नाम बदलेर नेपाल मात्र राख्ने निर्णयबाट गणतन्त्र विरोधीहरू उत्साहित भएको उल्लेख छ ।

नेकपाको सरकार र गृह प्रशासनले यस्ता क्रियाकलापको रक्षा गरिरहेको छ भन्ने जन आवाज सुन्न थालेको भन्दै संघीयताको पक्षधर सबै पार्टीको बीचमा छलफल आयोजना गरी जनभावनाअनुसार अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।

यस्तै तत्काल भ्याक्सिन ल्याई कोरोना भाइरसबाट जनताको जीवन रक्षा गर्नका साथै पूर्ण रूपले आर्थिक गतिविधि सुचारु हुने अवस्था सिर्जना गर्नुपर्ने भनिएको छ ।

सिंगो स्थायी कमिटी बैठकको ध्यानाकर्षण गराउँदै उनले यसबारे छलफल एवं तत्काल निर्णयमा पुग्न प्रस्ताव प्रस्तुत गरेको उल्लेख गरेका छन् ।

स्थायी कमिटीका कमरेडको सामूहिक विवेकमाथि विश्वास छ : ओली

आइतबार सम्पन्न नेकपा स्थायी कमिटी बैठकमा अनुपस्थित रहे पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटिका कमरेडको सामूहिक विवेकमाथि आफूलाई विश्वास रहेको बताएका छन् ।

ओलीले स्थायी कमिटी बैठकलाई पत्र लेख्दै विगतमा पार्टीलाई संकटबाट जोगाउने काम स्थायी कमिटीले नै गरेको स्मरणसमेत गरेका छन् ।

‘गत २६ भदौमा कमरेडहरूले पार्टीलाई यस्तै संकटबाट सकुशल अवतरण गराउनुभएको थियो । आशा छ, यस पटक पनि व्यक्ति विशेषका स्वार्थका लागि आन्दोलनकै सिकार हुने गरी सिर्जना भएको वर्तमान संकटलाई सक्रिय पहलकदमी, सकारात्मक हस्तक्षेप र विवेकबाट निकास दिनुहुनेछ,’ प्रधानमन्त्री ओलीले पत्रमार्फत स्थायी कमिटीका सदस्यहरूलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालले पेस गरेको प्रस्ताव फिर्ता नभएसम्म आफू बैठकमा आउन नसक्ने स्पष्ट पारेका छन् । पार्टीलाइ संकटतर्फ लैजाने गरी अध्यक्ष दाहालले पेस गरेको अभियोगपत्रबारे बैठकमा कुनै छलफल हुन नसक्ने उनले स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले एकीकरणका बाकी काम पूरा गर्ने, महाधिवेशनको तयारी गर्ने र कोभिडविरुद्धको लडाइँलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर बैठकका कार्यसूची निर्धारण गरी ठोस प्रस्तावसहित पर्याप्त तयारीका साथ बैठक सम्पन्न गर्नुपर्ने आफ्नो मान्यता रहेको बताएका छन् । अध्यक्ष ओलीले परामर्श र सहमतिबाट तय गरिएका कार्यसूचीमाथि आधारित भएर आयोजना हुने बैठकमा आफू सधैँभरि सहभागी हुने समेत स्पष्ट पारेका छन् ।

अध्यक्ष दाहालको प्रस्तावमथि बैठकमा छलफल गर्न नसकिने धारणा राख्दै ओलीले यसअघि दाहालले सचिवालय बैठकमा पेस गरेको प्रतिवेदन पार्टीको कुनै पनि कमिटीमा छलफल गर्न नसकिने जनाएका छन् ।

महाधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचन बाहिरबाट सरकार बदल्न खोज्ने केही नेताको व्यग्र नेतृत्वमोह र सत्तामोहका कारण पार्टीमा संकट निम्तिएको आरोप ओलीले आफ्नो पत्रमार्फत लगाएका छन् ।

‘महाधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचनबाहिरबाट सरकार बदल्न खोज्ने केही कमरेडहरूको व्यग्र नेतृत्वमोह र सत्तामोहका कारण संकट निम्तिएको छ । मैले त पार्टीको एकता महाधिवेशनपछि पार्टी नेतृत्वमा नरहने र आगामी निर्वाचनपछि सरकारको नेतृत्वमा नरहने घोषणा गर्दै नेतृत्व हस्तान्तरणको विषय सार्वजनिक गरिसकेको छु,’ ओलीले भनेका छन्, ‘तर पार्टी नेतृत्व परिवर्तनका लागि चार महिना कुर्न नसक्ने र प्रधानमन्त्री बन्न नयाँ जनादेश पर्खिन नसक्ने सोचका कारण सिर्जित यस संकटले सकारात्मक निकास पाओस् भन्ने मेरो प्रयास रहिरहेको छ ।’

पार्टी विधानको स्पष्ट व्यवस्था, कार्यदलको सुझावमा आधारित स्थायी समितिको सर्वसम्मत निर्णय र पार्टीमा स्थापित परम्परा विपरीत दाहालको प्रस्तावले पार्टीभित्र असामान्य अवस्था सिर्जना भएको तथ्यसँग सबै जानकार नै रहेको प्रम ओलीको भनाइ छ ।

पार्टीभित्र हुने स्वस्थ र मर्यादित छलफलका सम्पूर्ण सीमा भत्काएर पार्टीभित्रको नीतिगत बहसलाई शत्रुतापूर्ण अन्तरविरोधमा रूपान्तरित गरेको र पार्टी विधान मात्रै होइन, राज्यका संविधान र कानुन समेत आकर्षित हुने प्रकृतिका संगिन फौजदारी आक्षेपसमेत लगाइएको उक्त अभियोगपत्रमाथि बैठकमा कुनै छलफल हुन नसक्ने मान्यता सचिवालय बैठकमा राखेको जानकारी उनले गराएका छन् ।

‘मलाई थाहा थिएन । खेलको उत्तराद्र्धमा आएर केही कमरेडहरू ‘खेलको नियम’ नै बदल्न लाग्नु हुनेछ र ‘जसरी पनि जित्ने’ महŒवाकांक्षाका निम्ति जुनसुकै हदसम्म जान तयार हुनु हुनेछ,’ ओलीले भनेका छन्, ‘खेलको अन्तिमतिर आएर गर्न खोजिएको यो नियम परिवर्तन नैतिकता र राजनीतिक दृष्टिले गलत मात्रै होइन, विभाजनकारी समेत छ भन्ने कुरा म स्पष्ट पार्न चाहान्छु।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्