बम विस्फोटका घाइतेलाई जिउँदै जलाएको प्रकरणमा थप १ जना पक्राउ



रौतहट मंसिर २२ । राजपुर फरहदवामा भएको बम विस्फोटका घाइतेलाई जिउँदै जलाइएको प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

राजपुर नगरपालिकाका मोहम्मद महताब आलमलाई आइतबार राति भारतको मोतीहारीबाट पक्राउ गरिएको हो । उनी सोही प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री एवं कांग्रेस नेता मोहम्मद आफताब आलमका भाइ हुन् ।

कांग्रेसका जिल्ला नेतासमेत रहेका महताब दाजु पक्राउ परेदेखि नै फरार थिए । उनलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । महताबकै परिवारका एक सदस्यले पनि उनी पक्राउ परेको पुष्टि गरेका छन् । यद्यपि जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले महताब पक्राउबारे बताउन आनाकानी गरे । मोतीहारीस्थित आफन्तकहाँ आएका महताबलाई रौतहट र भारतीय प्रहरीको संयुक्त टोलीले पक्रेर नेपाल ल्याउँदै गरेको प्रहरी स्रोतले बतायो । आरोपितमध्ये अहिलेसम्म पाँच जना पक्राउ परिसकेको जिल्ला प्रहरीले जनायो ।

२०६४ चैत २७ राति राजपुर नगरपालिका–४ स्थित आलमका काका सेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो । उक्त विस्फोटमा घाइते भएका यमुना गाउँपालिका–४ का त्रिलोकप्रसाद सिंह (पिन्टु), ओसी अख्तरलाई चिम्नी भट्टामा जिउँदै जलाइएको पूर्वमन्त्री आलम, भाइ महताबलगायत ११ जनामाथि आरोप छ । मुख्य आरोपित आलम पुर्पक्षका लागि गत कात्तिक २९ देखि काठमाडौंको नक्खु कारागारमा छन् ।

प्रतिक्रिया दिनुहोस्