नुवाकोटको त्रिशुली अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु



नुवाकोट,मंसिर २२ । नुवाकोटको त्रिशूली अस्पतालमा ‘स्वास्थ्य बीमा कार्यक्रम’ सुरु भएको छ । एक महिनाअघि बीमा कार्यक्रम कार्यान्वयनका लागि स्वास्थ्य बीमा बोर्ड र अस्पतालबीच भएको सम्झौताअनुसार आइतबारदेखि बीमा कार्यक्रम सुरु भएको अस्पतालले जनाएको छ ।

उक्त बीमा कार्यक्रममा अस्पतालबाट प्रवाह हुने सबै प्रकारका सेवाका कार्यक्रम समेटिएको अस्पताल विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले बताए । उनले बीमा मार्फत बिरामीलाई स्वास्थ्य जाँचदेखि विशेषज्ञ सेवा एवं शल्यक्रियालगायतमा सेवाको लाभ लिन समेत सबैलाई अनुरोध गरेका छन् । उनका अनुसार कार्यक्रम सञ्चालनका लागि बीमा बोर्ड र अस्पतालले बोर्डको ‘सेवा सम्झौतापत्र’मा गत मंसिरको सुरुमै हस्ताक्षर गरेतापनि आइतबारदेखि सेवा सञ्चालनमा आएको हो । दुई पक्षबीच भएको सम्झौता पाँच वर्ष कायम हुनेछ ।

‘स्वास्थ्य बीमा कार्यक्रम’का लागि न्यूनतम पाँच जनाको परिवार भएमा एक वर्षको रु तीन हजार ५०० शुल्क निर्धारण गरिएको छ । एक परिवारमा पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति रु ७०० थप गरेर बीमा कार्यक्रममा समावेश हुन सक्ने व्यवस्था मिलाइएको त्रिशूली अस्पतालले जनाएको छ । ज्येष्ठ नागरिकका लागि भने बीमाबापत कुनै शुल्क नलाग्ने अस्पतालका अध्यक्ष न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्