नेपाल इयूको कालो सूचीबाट छिट्टै हट्दै



काठमाडौँ मङ्सिर २२ । हवाई सुरक्षा प्रणालीमा बहुआयामिक सुधारका कारण नेपाल छिट्टै युरोपेली सङ्घ (इयू) को कालोसूचीबाट हट्ने देखिएको छ ।

उडान सुरक्षामा आधुनिक सुरक्षा प्रणालीको अवलम्बन, प्रभावकारी नियमन तथा क्षमतावृद्धिलगायत कारणले नेपालको उड्डयन क्षेत्रमा गरिएको सुधारको प्रशंसा गर्दै इयूले नेपाललाई सुरक्षा सूचीबाट हटाउने सङ्केत गरेको हो । अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) स्थापना दिवसका अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै इयूले नेपालको पछिल्लो समयको सुधारलाई प्रशंसा गरेको छ । यसबाट नेपालमाथि उडान प्रतिबन्ध फुकुवा हुने सङ्केत मिलेको छ ।

इयूको चासोअनुरुप नेपाल सरकारले हवाई सुरक्षामा देखिएको चुनौती समाधान गर्न देखाएको प्रतिबद्धता, नेपालको उड्डयन क्षेत्रले सुरक्षामा उल्लेख्य प्रगति तथा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजनसम्बन्धी विधेयक संसद्मा पारित हुने प्रक्रियामा रहेकाले पनि सकारात्मक प्रगति हुने अपेक्षा गरिएको छ ।

नेपालको यस्तो प्रयासले सुरक्षा सूचीबाट हटाउने प्रक्रिया शुरु गर्न सहज हुने इयूले उल्लेख गरेको छ । खासगरी संसद्मा दर्ता भएको विधेयकले सुरक्षा सूचीबाट हटाउन लागू हुने तीन मापदण्ड कार्यान्वयनमा लैजान सकिने पनि इयूले स्पष्ट पारेको छ । त्यसैगरी हवाई सुरक्षाको प्रभावकारी कार्यान्वयन भए नभएको जानकारी लिन महानिर्देशकसहितको टोलीले नेपालमा भ्रमण गर्ने र नियोगले तयार गरेको प्रस्तावका आधारमा युनियनको हवाई सुरक्षा समितिले सुरक्षा सूचीबाट हटाउन सकिने प्रक्रिया पूरा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्