क्रियाशील सदस्यताको काम सक्नेमा अर्घाखाँची काङ्ग्रेस पहिलो



अर्घाखाँची, मंसिर २४ । नेपाली कांग्रेस अर्घाखाँचीले आज क्रियाशील सदस्यताको सूची केन्द्रीय कार्यालयमा बुझाएको छ।

कोरोनाभाइरस महामारीबीच क्रियाशील सदस्यता वितरण र नवीकरणका काम अर्घाखाँची जिल्ला कार्यसमितिले टुंग्याएको हो। ‘सचिव विष्णुप्रसाद भुसालले आज केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यको विवरण बुझाउनु भयो,’ सभापति विष्णुप्रसाद खनाल ‘मुस्कान’ले भने।

पार्टी केन्द्रीय कार्यालयको निर्देशनअनुसार क्रियाशीलको विवरण बुझाउने अर्घाखाँची कांग्रेस पहिलो हो। अरू ७३ जिल्लामा क्रियाशीलको काम भइरहेको छ। सभापति खनालले कोरोनाको निहुँ देखाएर क्रियाशीलको काम रोक्न नहुने बताए।

‘६१ वडा रहेको अर्घाखाँचीमा हामीले विवादविनै क्रियाशिल सदस्यता टुंग्याएको हो,’ उनले भने, ‘मातहत समितिलाई विश्वास गर्ने हो भने फटाफट काम गर्न सकिन्छ।’ उनले अर्घाखाँचीबाट ११ हजार आठ सय ७० जना क्रियाशीलको नाम केन्द्रीय कार्यालयमा बुझाएको जानकारी दिए। जुन संख्या २०७२ सालमा भएको कांग्रेसको १३ औं महाधिवेशनमा जम्मा ६ हजार मात्रै थियो।

‘हामीले शतप्रतिशत क्रियाशील थप्यौं। योग्यता पुगेका सबैलाई भेदभाव नगरी क्रियाशील सदस्यता दिइएको छ,’ उनले भने। अर्घाखाँचीमा जस्तै क्रियाशीलको काम समयमै अरू जिल्लाले पनि टुंग्याएको भए मंसिरभित्र केन्द्रीय कार्यालयमा विवरण आउने थियो। त्यसले कार्यतालिकाअनुसार महाधिवेशन गर्ने बाटो खोल्थ्यो। तर अवस्था यस्तो छैन। गत वर्ष नै सकिनु पर्ने समायोजनका काम तीन जिल्लामा अझै बाँकी छ। प्रदेश नम्बर २ अन्तर्गत बारा र सप्तरी तथा बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोकमा समायोजनको काम सकिएको छैन।

यी जिल्लामा २०७२ सालको अधिवेशनबाट निर्वाचित समितिले नै काम गरिराखेको छ। विधानअनुसार यी तीन जिल्ला समितिमा संघीय संरचनाअनुसार संगठन छैन। गत कात्तिक २८ को केन्द्रीय कार्यसमिति बैठकले ७७ जिल्लाबाट मंसिर मसान्तभित्र क्रियाशीलको विवरण पठाइसक्न समय तय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्