खाद्यान्नमा लगातार मूल्य वृद्धि



काठमाडौं, मंसिर २५ । बितेको करीब डेढ महीनादेखि खाद्यान्नमा लगातार रूपमा मूल्य वृद्धि भइरहेको पाइएको छ । दशैंअघि सम्मको मूल्यलाई आधार मान्ने हो भने अहिले खाद्यान्नमा ३३ प्रतिशतसम्म मूल्य वृद्धि भएको छ । दशैं सकिएलगत्तै खानेतेल, चिनी र गेडागुडीमा २५ प्रतिशतसम्म मूल्य वृद्धि भएको थियो ।

खुद्रा व्यापार संघले उपलब्ध गराएको मूल्य सूचीअनुसार दाल, गेडागुडी र खाने तेलको मूल्य लगातार रूपमा बढ्दै गएको पाइएको छ । कात्तिक दोस्रो सातासम्म खुद्रा मूल्य प्रतिकिलो १ सय २० रुपैयाँमा पाइने बोडीको मूल्य अहिले ३३ प्रतिशतले वृद्धि भई १ सय ६० रुपैयाँ पर्न थालेको छ । खुद्रा मूल्य प्रतिकिलो १ सय ४० रुपैयाँ पर्ने मसुरोको दाल यति बेला १४ प्रतिशतले वृद्धि भई प्रतिकिलो १ सय ६० रुपैयाँसम्म पर्न थालेको छ ।

ठूलो मसुरो दालको मूल्य पनि प्रतिकिलो १ सय १५ बाट १ सय २५ पुगेको छ । खुद्रा मूल्य प्रतिकिलो १ सय ५० रुपैयाँ पर्ने मासको दाल अहिले बजारमा १ सय ७० रुपैयाँसम्म पर्न थालेको छ । भटमासको तेलको मूल्य २० प्रतिशतले वृद्धि भई प्रतिलिटर १ सय ५० बाट १ सय ८० पुगेको छ । प्रतिलिटर २ सय २० रुपैयाँ पर्ने धारा तोरीको तेलको मूल्य २० रुपैयाँले वृद्धि भई प्रतिलिटर २ सय ४० सम्म पर्न थालेको छ । अमृत तेलको मूल्यमा प्रतिलिटर ३० रुपैयाँले वृद्धि भई १ सय ८० बाट २ सय १० पुगेको छ । सनफलावर तेलको मूल्य प्रतिलिटर १ सय ७५ बाट १ सय ९५ सम्म पर्न थालेको छ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्