सञ्चालन नहुँदै जयनगर–कुर्था रेल्वे ट्र्याकको १८ हजार क्लिप चोरी



धनुषा,मंसिर २५ । जयनगर–कुर्था रेल्वे सञ्चालनमा नआउँदै रेल गुड्ने ट्र्याकका करिब १८ हजार क्लिप चोरी भएका छन् । क्लिपले रेलको पटरी र लिकलाई जोडेर राख्नुका साथै रेल चल्दा पटरीमा सन्तुलन कायम गर्ने काम गर्छ ।

जनकपुरस्थित रेल विभागका साइट इन्चार्ज विनोद ओझाका अनुसार सरकारले रेल ल्याउनुअघि र पछि पनि क्लिप चोरी भइरहेका छन् । २ असोजमा भारतबाट रेल ल्याउँदा ठाउँठाउँमा नयाँ क्लिप जडान गर्नुपरेको उनले बताए । त्यतिखेर चोरी भएका करिब पाँच हजार नयाँ क्लिप जडान गरिएको ओझाले बताए ।

‘हामीले अनुगमन गर्दा कुर्थादेखि जयनगरसम्म करिब १८ हजार थान क्लिप चोरी भएको पाइयो । स्थानीय बालिबालिका र ट्यापे केटाहरूले चोर्ने गरेको पाइयो,’ ओझाले भने, ‘चोरी भएका करिब पाँच हजार नयाँ क्लिप जडान गरेर गत असोजमा नेपाली रेल जनकपुरसम्म ल्याएका हौँ ।’

एउटा क्लिपको तौल एक किलो हाराहारीको हुन्छ । बालबालिकाहरूले चोरेर कवाडीलाई बेच्ने गरेको आशंका रेल विभागको छ । रेल्वेका कर्मचारीले दुईपटक क्लिप चोरिरहेको अवस्थामा केटाकेटीहरूलाई समातेर प्रहरीको जिम्मा लगाएका थिए । प्रहरीले उनीहरूलाई सम्झाइबुझाई अभिभावकसँग अबदेखि क्लिपलगायतका कुनै सामान चोरी गर्दैनौँ भन्ने कागज गराएर छाडेको थियो ।

यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्