मिथुन उल्कावर्षा मंसिर २८ गते रातभर सक्रिय रहने



काठमाडौं,मंसिर २५ ।  मिथुल उल्कावर्षा मंसिर २८ गते रातभर सक्रिय रहने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अनुसार मंसिर १९ देखि सक्रिय रहेको मिथुन उल्का वर्षा मंसिर २८ गते राति अत्यधिक सक्रिय रहनेछ।

सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार अत्यधिक सक्रिय समयमा प्रतिघण्टा १ सय ५० वटासम्म उल्का देख्न सकिनेछ । यो मिथुन उल्का वर्षा क्षुद्रग्रह तीन हजार दुई सय फेथनले अन्तरीक्षमा छाडेका स–साना धुलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किलोमिटरमाथि जलेर देखिने बताइएको छ ।

उल्का वर्षाको समयमा उल्का मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्का वर्षा नामाकरण गरिएको हो । उल्का वर्षा हेर्न चाहने सर्वसाधारणले आफ्नो घरबाट वा नजिकैको प्रकाश प्रदूषण कम भएको स्थानबाट अवलोकन गर्न तथा तस्बीर खिच्न सक्नेछन् । अवलोकनका लागि मंसिर २८ गते आइतबार राति ८ बजेदेखि भोलिपल्ट बिहान ५ः३० सम्मको समय अनुकूल हुने अध्यक्ष भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्