एआइजीमा बढुवा भए विश्वराज पोखरेल



काठमाडौं, मंसिर २५ । सरकारले नेपाल प्रहरीका डिआइजी विश्‍वराज पोखरेललाई एआइजीमा बढुवा गरेको छ। बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजी पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णय लिएको हो। 

पोखरेललाई प्रहरी मुख्यालयमा पदस्थापन गरिएको छ। संसदको राज्य व्यवस्था समितिले बुधबार मात्रै कुनै एक व्यक्ति विशेषका लागि दरबन्दी थप्‍न नहुने भन्दै पोखरेलको बढुवा सिफारिस रद्द गर्न सरकारलाई निर्देशन दिएको थियो। तर संसदीय समितिको निर्देशनको भोलिपल्टै सरकारले पोखरेललाई भावी आइजीपीका रुपमा एआइजीमा बढुवा गरिदिएको हो। 

बुधबारको संसदीय समितिको निर्देशनले भावी आइजीपी बन्‍न तम्तयार पोखरेललाई अफ्ठ्यारो पर्ने अवस्था देखिएको थियो। तर सरकारले उनलाई एआईजीमा बढुवा गर्न भएको सिफारिसलाई बिहीबार कार्यान्वयन गरेपछि संसदीय समितिको निर्देशन पनि बेकामे भएको छ। 

उपप्रधानमन्त्री ईश्वर पोखरेलको विशेष चासोमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत समर्थन जनाएपछि पोखरेल एक्लै एआईजीमा बढुवा भएका हुन्। गत मंसिर ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीमा १ जना एआईजीको दरबन्दी थप्‍ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्