अरनिको राजमार्ग पुनर्निर्माण गरिदिने चीनको प्रस्ताव



सिन्धुपाल्चोक, मंसिर २६ । भूकम्प तथा बाढीपहिरोबाट क्षतविक्षत बनेको नेपाल–चीन जोड्ने पहिलो उत्तरी नाका अरनिको राजमार्ग पुनर्निर्माणका लागि चीन सरकारले प्रस्ताव गरेको छ । ८० मिलियन युआन (१ अर्ब ४४ करोड २० लाख रुपैयाँ) लगाएर राजमार्ग पुनर्निर्माण गरिदिने प्रस्ताव चीन सरकारले राखेको हो ।

२०७२ सालको भूकम्प र त्यसपछि गएको बाढीपहिरोका कारण क्षतिग्रस्त अरनिको राजमार्ग पुनर्निर्माणका लागि चिनियाँ दूतावासमार्फत प्रस्ताव प्राप्त भएको सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाले जानकारी दिएको छ ।

चीन सरकारले पुनर्निर्माणको प्रस्ताव पठाए पनि तत्काल काम थालनी हुने सम्भावना भने छैन । कोरोना महामारीका कारण चिनियाँ निर्माण टोली आउने सम्भावना नभएको सडक विभागले बताएको छ ।

सडक विभागका अनुसार चीन सरकारले पाँचखालदेखि कोदारीसम्मको खण्ड पुनर्निर्माण गरिदिने प्रस्ताव राखेको छ । प्रस्तावअनुसार सडकको स्तरोन्नति हुने छैन र भूकम्प, वर्षाले क्षति पुगेको स्थानमा पुनर्निर्माण गर्ने काम हुनेछ । ६० भन्दा बढी स्थानमा सडक क्षतिग्रस्त छ ।

अहिले अरनिको राजमार्गअन्तर्गतको कोठे, लामोसाँघु बाह्रबीसे, खुर्सानीबारी, सिरिसे, खग्दोल, जम्बु, झ्याले, डाकलांक, माथिल्लो भोटेकोशी ड्याम क्षेत्र, घट्टे खोलालगायत १५ स्थानमा पुल र सडकमा समस्याका कारण राजमार्गमा यातायात सञ्चालन गर्न अप्ठ्यारो छ । यी ठाउँमा दुवैतर्फ गाडीहरू आवातजावत गर्न मिल्दैन ।

वर्षामा राजमार्ग अवरुद्ध हुँदा लामो समयसम्म सडक एकतर्फी सञ्चालनमा छ । अझै केही ठाउँमा वैकल्पिक व्यवस्था गरेर सडक सञ्चालन गरिएको छ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्