नेपालको क्रेडिट रेटिङ हाललाई स्थगन



काठमाडौं, मंसिर २६ । नेपालको क्रेडिट रेटिङ (साख निर्धारण अर्थात् ‘सोभरेन रेटिङ’) गर्ने जिम्मा पाएको अन्तरराष्ट्रिय स्तरको फिच कम्पनीले हाललाई यो कार्य स्थगन गरेको छ ।

उक्त कम्पनीले चालू आर्थिक वर्षको ६ महीनाभित्र तयार गर्ने कार्ययोजना बनाएको थियो । तर, कोभिडका कारण समग्र अर्थतन्त्र पहिलाको जस्तो सामान्य नभएकाले अवस्था सामान्य नभएसम्मलाई क्रेडिट रेटिङको कार्य स्थगन गरेको हो ।

अर्थ मन्त्रालयका राजस्व सचिवको संयोजकत्वमा गठित रेटिङ ओभरसाइट कमिटीले विभिन्न छलफल, अध्ययन गरेर गत चैतअघि उक्त कम्पनीलाई नेपालको रेटिङ गर्ने जिम्मा दिएको थियो । अन्तरराष्ट्रिय स्तरमा मुडिज, फिच र स्ट्यान्डर्ड एन्ड पुअर्स रेटिङ एजेन्सीले ‘सोभरेन रेटिङ’ गर्दै आएकोमा उक्त कमिटीले फिच कम्पनीलाई छनोट गरेको थियो । तर, उनीहरूले कोभिड–१९ का कारण रेटिङको कामलाई स्थगन गरेको अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनी बताउँछन् ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्