कोरोना खोप आपूर्तिका लागि वित्तीय व्यवस्थापन



काठमाडों, मंसिर २७ । बेलायतमा फाइजर कम्पनीले उत्पादन गरेको कोरोना विरुद्धको खोप सर्वसाधारण नागरिकले लगाउन सुरु गरिसकेका छन् । बेलायती जनताले कोरोना विरुद्धको खोप लगाइरहँदा नेपालमा कहिले कोरोना विरुद्धको खोप आउने हो भन्ने उत्सुकता जागेसँगै वित्तीय व्यवस्थापन पनि हुन थालेको छ ।

खोपका लागि वित्तीय सुनिश्चितता गर्न अर्थ मन्त्रालयले ४८ अर्ब रुपियाँको व्यवस्थापन गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डाक्टर झलक गौतमले जानकारी दिनुभयो । वित्तीय व्यवस्थापनसँगै खोप उत्पादक मुलुकमा आपूर्तिका लागि कूटनीतिक नोट पठाइसकेको छ । खोप कहिलेसम्म आइपुग्छ भन्ने निश्चित त छैन तर खोप आपूर्ति गर्ने अन्तर्राष्ट्रिय संस्था गाभीको सक्रियतामा खोपलाई सहज गर्नका लागि कोभ्याक्स सहजीकरण गठन भइसकेको छ ।

खोपका लागि नेपाल सरकारले गृहकार्यलाई अगाडि बढाएको छ । बेलायती कम्पनी फाइजरलगायत मोर्डेना, अक्सफोर्ड एस्टाजनिका र ग्यामेलिया गरी चारवटा कम्पनीले खोपको प्रारम्भिक नतिजा ल्याइसकेका छन् । उक्त नतिजा ९० प्रतिशतभन्दा माथि सफल रहेको छ । परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा। गौतमले नेपालीको पहुँचमा छिटै कोरोना विरुद्धको खोप पाउने विश्वास व्यक्त गरे ।

उनले चार कम्पनीमध्ये भण्डारण गर्नुपर्ने तापक्रम भने फरक रहेको जानकारी दिँदै फाइजर कम्पनीको खोप माइनस ७० डिग्री सेन्टिग्रेडमा प्राविधिक पक्ष छ । जुन नेपालमा हालको अवस्थामा सम्भव छैन । त्यसको संरचना सुरुदेखि नै बनाउनुपर्ने हुन्छ । मोर्डेनाको खोप माइनस २० सेन्टिग्रेड तथा ग्यामेलिया र अक्फोर्ड एस्टाजनिकाका दुईदेखि आठ डिग्री सेल्सियससम्म राख्नुपर्ने हुन्छ । दुईदेखि आठ डिग्रीसम्मका खोप नेपालमा भण्डारण गर्ने क्षमता रहेको छ । यस्तै माइनस २० डिग्रीको पनि नेपालमा भण्डारण हुनेछ ।

सरकारले नेपालमा खोप ल्याउन विभिन्न समिति तथा उपसमितिहरू निर्माण गरिसकेको छ । सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, अर्थ र परराष्ट्र मन्त्रालयका सचिव स्तरीय उच्च स्तरीय समितिसमेत बनाइसकेको छ । त्यस्तै प्राविधिक रूपमा अध्ययन तथा सुझाव दिई खोप नेपालमा सहज रूपमा ल्याउनका लागि विज्ञ समूह गठन गरेको छ । जसमा डा श्यामराज उप्रेतीको संयोजकत्वमा डा बालकृष्ण सुवेदी, डा जिडी ठाकुर, डा प्रदीप ज्ञवाली र सदस्य सचिवका रूपमा डा झलक गौतम रहेको बताइएको छ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्