संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दो



काठमाडौं, मंसिर २८ । देशभर कोरोना भाइरस संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितभन्दा संक्रमणमुक्त हुने दर उल्लेखनीय रहेको छ । पछिल्लो एक सातालाई आधार मान्दा ७ हजार ७ सय ८ संक्रमित थपिएकामा १० हजार १ सय ७८ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत आइतबार १ हजार ९६ संक्रमित थपिएकामा १ हजार ७ सय ५२ जना संक्रमणमुक्त भएका छन् । यस्तै, सोमबार १ हजार १४ जना संक्रमित थपिएकामा १ हजार ६ सय २८ जना संक्रमणमुक्त भएका छन् ।

मंगलबार १ हजार ३ सय ८२ संक्रमित थपिएकामा १ हजार ६ सय २१ जना संक्रमणमुक्त, बुधबार १ हजार ५६ संक्रमित थपिएकामा १ हजार ४ सय ८३ जना संक्रमणमुक्त भएका छन् । यस्तै, बिहीबार १ हजार २ सय १७ जना संक्रमित थपिएकामा १ हजार ६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शुक्रबार १ हजार ४४ संक्रमित थपिएकामा १ हजार २ सय ७१ जना संक्रमणमुक्त भएका छन् । हिजो शनिबार ८ सय ९९ संक्रमित थपिएकामा १ हजार ३ सय ५९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।

हालसम्म देशभर २ लाख ४७ हजार ५ सय ९३ संक्रमितमध्ये २ लाख ३४ हजार २ सय ३१ जना संक्रमणमुक्त भएका छन् । कुल संक्रमणमुक्त हुने दर ९४ दशमलव ६० रहेको छ । नेपालमा हालसम्म कुल संक्रमितमध्ये ११ हजार ६ सय ७३ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, शनिबार थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ८९ पुगेको छ । पछिल्लो एक सातामा सरदर दैनिक १ हजार १ सय १ जनामा संक्रमण हुने गरेको छ । यस्तै एक सातालाई आधार मान्दा दैनिक १ हजार ४ सय ५४ जना संक्रमणमुक्त हुने गरेका छन् ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्