स्वास्थ्य मापदण्ड पालना गरेर हिउँदे अधिवेशन सञ्चालन गर्ने तयारी



काठमाडौं मंसिर २८ ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य मापदण्ड पालना गर्दै संसदको हिउँदे अधिवेशन सञ्चालन हुने बताएका छन् ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा आइतबार आयोजित १४औं संघीय संसद सेवा दिवस(२०७७ को मूल समारोहलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संसद अधिवेशन छिट्टै आह्वान हुने बताएका हुन् । उनले कोरोना भाइरसको संक्रमण बढिरहे पनि स्वास्थ्य मापदण्डको पालना गरेर संसद बैठक सञ्चालन गर्ने तयारी भइरहेको बताए ।

बर्खे अधिवेशनमा थुप्रै अनिश्चितता र चुनौतीका बीच सफलतापूर्वक सभा सञ्चालन गरेको अनुभव रहेकाले संसद चलाउन सहज हुने उनको भनाइ छ। कोरोनाका कारण लामो समयको लकडाउन र त्यसले निम्त्याएको जोखिमले गर्दा कानुन निर्माणसमेत प्रभावित हुन पुगेको अध्यक्ष तिमिल्सिनाको भनाइ छ।

कोरोनाका कारण संसारभर जस्तै नेपालमा पनि जनजीवन र देश विकासमा ठूलो असर परिरहेको भन्दै उनले नयाँ संविधान निर्माणपछि बनेको पहिलो संसदको कानुन निर्माणमा समेत यसले असर पारिरहेको बताए। कोरोनाको सुरुआती चरणमा संसद बैठक मात्रै नभई संसदीय समितिका बैठकसमेत रोक्नु परेको उनले स्मरण गरे। अध्यक्ष तिमिल्सिनाले सबैले स्वास्थ्य मापदण्डको पालना गरेर अगाडि बढ्नुपर्ने धारणा राखे।

सो अवसरमा उनले संसद सेवामा कार्यरत कर्मचारीलाई गर्व गर्न सक्ने गरी काममा खटिन आग्रह गरे। अध्यक्ष तिमिल्सिनाले संसद सेवा दिवसको अवसरमा उत्कृष्ट कर्मचारीलाई बधाई तथा शुभकामना व्यक्त गरे। संसदले प्रत्येक वर्ष प्रदान गर्ने सर्वोत्कृष्ट सेवा पुरस्कार उपसचिव कमला शाक्य, उत्कृष्ट सेवा पुरस्कार कम्प्युटर अधिकृत जगदिश शर्मा र संसद सेवा पुरस्कारबाट माली बालकृष्ण न्यौपाने र सवारी चालक कृष्ण रानामगर सम्मानित भएका छन् । त्यस्तै ३० वर्षभन्दा बढी सेवा गरेका कर्मचारीलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्