गौतम बुद्ध कप : राप्ती र नारायणी फाइनलमा प्रवेश



चितवन मंसिर २८ ।

गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता अन्तर्गत राप्ती टिम फाइनल प्रवेश गरेको छ ।

आइतबार बागमतीलाई ११ रनले पराजित गर्दै राप्ती फाइनल प्रवेश गरेको हो । भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा लगातार दोस्रो खेलमा पराजित बागमती प्रतियोगिताबाट बाहिरिएको छ ।

१ सय ३० रनको मध्यम लक्ष्य पछ्याएको बागमती २ बल बाँकी छँदै अलआउट भयो । बागमतीका सोमपाल कामीले सर्वाधिक ३५ रन बनाए । उनले २८ बलमा ३ चौका र २ छक्का प्रहार गरे । यस्तै अनिल शाहले २२ रन जोडे । रोहित पौडेल र ज्ञानेन्द्र मल्लले समान १३/१३ रन बनाउँदा सुनिल धमलाले ११ रनको योगदान गरे ।

रोमाञ्चक खेलमा बोहराले १९ औं ओभर दूई विकेट लिएपछि राप्तीले सहज जित हात परेको थियो । १८ औं ओभरको चौंथो बलमा बागमतीका बिक्रम सोब र अन्तिम बलमा पवन सर्राफलाई आउट गर्दै उनले खेल आफ्नो पक्षमा पारेका थिए ।

राप्तीका कमल सिंह ऐरी, अविनास बोहरा र भुुुवन कार्कीले समान २/२ विकेट हात पारे । यसअघि पहिले ब्याटिङ गरेको राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रन बनायो ।

राप्तीको लागि अमित श्रेष्ठले सर्वाधिक २६ रन बनाए । ३३ बलको सामना गरेका अमितले २ चौका र छक्का प्रहार गरेका थिए । शरद भेषावकर र कप्तान बिनोद भण्डारीले समान २१/२१ रन जोडे । यस्तै लोकेश बमले १५ तथा कमल सिंह ऐरीले १६ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

बागमतीका सोमपाल कामी, सगर ढकाल र रशिद खानले समान २/२ विकेट लिए । यस्तै ललित राजबंशी र बिक्रम सोबले १र१ विकेट हात पारे । शनिबार भएको पहिलो खेलमा बागमती टिम नारायणीसंग सुपर ओभरमा पराजित भएको थियो ।

फाइनलमा राप्ती र नारायणी भिड्ने छन् । दुवै टोली एक खेल अगावै फाइनल पुगेका हुन् । सोमबार फाइनल पुगेका राप्ती र नारायणीको औपचारिक खेल हुनेछ । मंसिर ३० गते फाईनल खेल खेल्नेछन् । कोरोनाका कारण प्रभावित बनेको घरेलु खेलकुदलाई चलायमान बनाउन बागमती प्रदेश क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्