सर्लाहीमा आगलागीबाट एक करोड बराबरको क्षति



सर्लाही मंसिर २९ ।

सर्लाहीको हरिवन नगरपालिका ११ स्थित आगलगी हुँदा चार वटा पसल जलेर नष्ट भएका छन् ।

आगलागीबाट करिब एक करोड बराबरको क्षति भएको पीडितहरुले बताएका छन् । आइतबार मध्यरातमा भएको आगलगीबाट सोही स्थानका कमल कार्कीको एक तल्ले घरमा पसल गर्दै आएका महेश साहको कपडा पसल तथा गोदाम, कैलाश साह, संजय साह र सुनिल साहको कपडाको पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

आगलगीमा परी घरमा आंशिक क्षति भए पनि कपडा पसल पूर्ण रुपमा नष्ट भएको प्रहरी कार्यालयले जनाएको छ । मानवीय तथा चौपाय क्षति भने भएको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी स्थानीय बासिन्दा र बारुण यन्त्रको सहयोगमा सोमबार बिहान २ बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागी कसरी भयो भन्ने अझै खुल्न सकेको छैन । प्रहरीले क्षतिको यकिन विवरण तथा घटनाबारे थप अनुसन्धान गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्