सीमा सुरक्षासम्बन्धी कानून तर्जुमा गर्न सरकार सकारात्मक छ : गृहमन्त्री थापा



चितवन मंसिर २९ ।

गृहमन्त्री रामबहादुर थापाले सीमा सुरक्षासम्बन्धी कानून तर्जुमा गर्ने र सशस्त्र प्रहरी बल ऐनमा समेत सो व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गणीमाई बाहिनीको आज भण्डारामा उद्घाटन गर्दै उनले प्रहरी बल नेपाललाई प्राप्त सीमा सुरक्षाको कार्यादेशलाई थप प्रभावकारी रुपमा सम्पादन गर्न यसले सहयोग पुर्याउने बताए ।

उनले अन्य सुरक्षा निकायसँग समेत आवश्यक समन्वय गर्दै अघि बढ्न सशस्त्र प्रहरीलाई निर्देशन दिए । सशस्त्र प्रहरीलाई समयानुकूल जनशक्ति थप गर्दै आधुनिकीकरण र प्रविधिमैत्री बनाउन एवं सङ्गठनको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै लैजान सरकार प्रतिबद्ध रहेको उनले बताए।

उनका अनुसार चालू आर्थिक वर्षमा २२१ बोर्डर आउट पोष्ट बिओपी स्थापना गर्ने लक्ष्यका साथ मन्त्रालय अघि बढिरहेको र यस वर्ष ८७ नयाँ बिओपी स्थापना भइसकेको छ । भारत र चीन दुवै देशसँग सिमाना जोडिएको वाग्मती प्रदेशको अलग र विशेष महत्व रहेको र सुरक्षाको दृष्टिले समेत उच्च संवेदनशील रहेको बताउँदै उनले राष्ट्रको आन्तरिक सुरक्षालाई बलियो पार्न अझै उच्चस्तरको ज्ञान, सीप र व्यावसायिक दक्षता प्रदर्शन गरी परिचालित हुन निर्देशन दिए ।

सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमा सुरक्षालाई मजबुत बनाउँदै अघि बढ्ने बताए । उनका अनुसार देशका सिमानामा ५०० बिओपी पुर्याइने छ । बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठले बाहिनीका बारेमा जानकारी गराएका थिए ।

सो बाहिनी विसं २०७५ भदौ ६ गते स्थापना भएको हो । यसले काठमाडौँ उपत्यकाका तीन जिल्लाबाहेक वाग्मती प्रदेशका १० जिल्ला हेर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्