उखु किसानको आन्दोलनपछि चिनी मिल सञ्चालकलाई सरकारले बोलायो



काठमाडौं मंसिर २९ ।

उखु किसानले माइतीघरमा आन्दोलन गरेपछि सरकारले चिनी मिलका सञ्चालकलाई सिंहदरबार बोलाएको छ ।

सर्लाहीका उखु किसानले माइतीघरमा आन्दोलन थालेको दोस्रो दिन सरकारले किसानको भुक्तानी दिन चिनी मिलका सञ्चालकलाई सिंहदरबार बोलाएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानको भुक्तानी समस्या समाधान गर्न चिनी उद्योगीहरुलाई दिउँसो दुई बजे वार्तामा बोलाएको हो । किसानको ९० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेका ६ वटा चिनी मिलका सञ्चालक तथा प्रतिनिधिलाई वार्तामा बोलाइएको हो ।

उद्योगमन्त्री लेखराज भट्ट, उद्योग र वाणिज्यतर्फका सचिवहरु तथा मन्त्रालयको वाणिज्य हेर्ने प्रतिनिधि उद्योगीसंगको छलफलमा सहभागी हुने मन्त्रालयले जनाएको छ ।

किसानलाई वार्तामा बोलाएपनि उनीहरुले उधारो सहमतिमा वार्तामा नबस्ने बताएपछि सरकारले उद्योगीसँग मात्रै वार्ता गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्