नेकपामा देखिएको मतभेदले सरकारको भविष्यमा कुनै असर पार्दैन : अर्थमन्त्री पौडेल



लुम्बिनी मंसिर ३० ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल कम्युनिष्ट पार्टी नेकपा मा देखिएको मतभेदले सरकारको भविष्यमा कुनै असर नपार्ने बताएका छन् ।

नेकपाका महासचिवसमेत रहेका अर्थमन्त्री पौडेलले मंगलवार आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत बुटवलस्थित कान्ति माविको शैक्षिक तथा छात्रावास भवनको शिलान्यास गर्दै आफूभित्रको समस्यालाई समाधान गरी एकताबद्ध भएर नेकपा अघि बढ्ने समेत बताए ।

उनले नेकपाभित्रको मतभेद, अन्तरविरोधले पार्टी र सरकारको भविष्यमा कुनै असर नपार्ने बताउँदै नेकपामा विग्रह ल्याएर एकतामा भाँजो हाली ठूलो भाग खाऔँला भन्ने सपना देख्नेहरुलाई पनि त्यस्तो सपना नदेख्न पनि आग्रह गरे ।

अर्थमन्त्री पौडेलले बुटवल प्रदेशमात्र नभएर देशकै केन्द्रका रुपमा विकसित हुँदै गएको उल्लेख गर्दै १० वर्षअगाडिको बुटवल र अहिलेको बुटवलको विकासको स्वरुप तीव्र गतिमा अगाडि बढेको बताए । उनले रुपन्देहीमा अहिले सञ्चालित विकास आयोजनाले पूर्णता पाउँदा बुटवल आर्थिक, वाणिज्य, पर्यटन, सामाजिक, शिक्षा र पर्यटनको केन्द्र बन्ने स्पष्ट पारे ।

अर्थमन्त्री पौडेलले बुटवलका शिक्षण संस्थाहरु भौतिक पूर्वाधारको हिसाबले पूर्ण बन्दै गएकाले अब गुणस्तरीय शिक्षा र सीपयुक्त जनशक्ति निर्माणमा ध्यान दिन शैक्षिक संस्थाहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्