ओलीविरुद्ध नेकपा सचिवालयका बहुमत सदस्यले सशक्त प्रतिवाद गर्ने



काठमाडौं मंसिर ३० ।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गम्भीर भएको दाहाल–नेपाल समूहले निष्कर्ष निकालेको छ।

अध्यादेश प्रकरणपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको सचिवालयका बहुमत सदस्यहरुको भेलाले ओलीको कदमविरुद्ध स्थायी कमिटी बैठकमा कडा प्रतिवाद गर्ने निर्णय गरेको हो।

‘पार्टीलाई कुनै जानकारीसमेत नदिएर ल्याइएको अध्यादेश गम्भीर विषय हो,’ सचिवालय सदस्य झलनाथ खनालले भने, ‘यसलाई हामीले गम्भीर रुपमा लिएका छौं। अब भोलि बस्ने स्थायी कमिटीले नै आवश्यक निर्णय लिन्छ।’

बुधबार बस्ने स्थायी कमिटीको बैठकमा दाहाल–नेपाल समूहले प्रधानमन्त्री ओलीको कदमको कडा प्रतिवाद गर्ने भएका छन्।

नेता खनालका अनुसार अध्यादेश खारेजीको माग बैठकमा सशक्त रुपमा उठ्ने भएको छ। संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि चाल्नुपर्ने रणनीतिका बारेमा छलफल गर्न दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्