उद्योगीलाई पक्राउ गरेर हाम्रो पैसा आउदैन: उखु किसान



काठमाडौं, पुस १ । ऋण काढेर काठमाडौं आएका उखु किसानहरूले उद्योगीलाई पक्राउ गरेर आफ्नो पैसा नआउने बताएका छन् । मंगलवार दिउँसो गृह मन्त्रालयले उखु किसानहरूको बक्यौता रकम भुक्तानी नगर्ने चार चिनी मिलका सञ्चालकलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएपछि आर्थिक अभियान दैनिकसँगको कुराकानीमा किसानहरूले यस्तो बताएका हुन् । उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले सरकारले चिनी उद्योगीलाई पक्राउ गर्नु वा नगर्नुसँग आपूहरूलाई सरोकार नभएको बताए । ‘उद्योगीलाई पक्राउ गरेर हाम्रो पैसा फिर्ता आउँदैन । त्यसकारण उद्योगीलाई पक्राउ गर्नेतर्पm भन्दा पनि सरकारले उद्योगीसँग हाम्रो बक्यौता रकम भुक्तानी गराउनेतर्फ ध्यान देओस्,’ उनले भने ।

चिनी उद्योगहरूबाट आफूहरूले पाउनुपर्ने वर्षौंदेखिको बक्यौता रकमको भुक्तानी माग गर्दै ३ दिनदेखि सर्लाहीका उखु किसानहरू काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनको तेस्रो दिन मंगलवार दिउँसो गृह मन्त्रालयले किसानको पैसा भुक्तानी नगर्ने इन्दिरा सुगर मिल नवलपरासी, लुम्बिनी सुगर मिल नवलपरासी, अन्नपूर्ण सुगर मिल सर्लाही र श्रीराम सुगर मिल रौतहटका सञ्चालकलाई पक्राउ गर्न निर्देशन दिएको थियो ।

प्रहरीले उद्योगीहरूलाई पक्राउ गरे पनि केही समयपछि धरौटीमा छुटिहाल्छन् तर किसानले पैसा पाउँदैनन् । त्यसैले उद्योगीलाई पक्राउ गर्नु समस्याको समाधान नभएकाले आपूmहरूको माग नै बक्यौता रकमको भुक्तानी भएको संघर्ष समितिका अध्यक्ष रामस्वायत रायले बताएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले उद्योगीहरूलाई पक्राउ गर्नु मात्रै समस्याको समाधान नभए पनि उनीहरूलाई हुँदै सम्मको कानूनी कारबाही हुने बताएका छन् ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्