नेकपा स्थायी कमिटी बैठक सुरु, प्रधानमन्त्री ओली अनुपस्थित



काठमाडौं पुस १ ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए । स्थायी कमिटी बैठक सुरु हुनुअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा दुई जना अध्यक्षबीच छलफल भएको हो ।

सरकारले मङ्गलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद थप बढेको छ । अध्यादेश सम्बन्धमा आफ्नै पार्टीका देखि प्रतिपक्षीलगायतले विरोध गरेका छन् ।

बुधबारको स्थायी कमिटी बैठकमा यो विषयले पनि प्रवेश पाउने अनुमान गरिएको छ । अध्यादेश आएपछि प्रचण्डसहित सचिवालयका बहुमत सदस्य असन्तुष्ट बनेका छन् । ओलीले पार्टीमा परामर्श नै नगरि ल्याएको अध्यादेश फिर्ता गर्नुपर्ने उनीहरुको माग छ ।

पार्टीभित्र देखिएको अन्तर्विरोध र यसले निम्त्याएको समस्या समाधानमा केन्द्रित हुने बेला प्रधानमन्त्रीले अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद झन् चर्किएको हो ।

प्रतिक्रिया दिनुहोस्