चालु आर्थिक वर्षमा वैदेशिक सहायता प्रतिबद्धता बढ्यो



काठमाडौं पुस १ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा वैदेशिक सहायता प्रतिबद्धता बढेको छ।

अर्थ मन्त्रालयका अनुसार यो आर्थिक वर्षको पहिलो चार महिनामा ९० अर्ब ५४ करोड ६५ लाख रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता आएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १५ अर्ब ६७ करोड ५० लाख प्रतिबद्धता आएको थियो।

कुल रकममध्ये १२ अर्ब ८३ करोड ५ लाख अनुदान सहायता र ७७ अर्ब ७१ करोड ६० लाख रुपैयाँ ऋण सहायताको लागि प्रतिबद्धता आएको छ। मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म सडक तथा सुशासन क्षेत्रअन्तर्गत सबैभन्दा बढी ५४ अर्ब रुपैयाँ प्रतिबद्धता आएको हो।

त्यसैगरी ऊर्जा क्षेत्र विकासको लागि २७ अर्ब ८७ करोड, स्वास्थ्य तथा कोभिड–१९ सहायताको लागि ४ अर्ब ७५ करोड, वन तथा वातावरणको क्षेत्रको लागि १ अर्ब ७५ करोड प्रतिबद्धता आएको अर्थ मन्त्रालयले जनाएको छ।

त्यस्तै शिक्षा क्षेत्र सुधारको लागि १ अर्ब ६१ करोड र भूकम्पपछिको पुनर्निर्माणको लागि ६० करोड सहायता प्रतिबद्धता आएको छ।

प्रतिक्रिया दिनुहोस्