छलफलबाटै समाधान खोज्नुपर्ने नेकपा स्थायी कमिटीको ठहर



काठमाडौं, पुस २ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले मंगलबार एक्कासि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि उत्कर्षमा पुगेको नेकपाको विवाद बुधबार केही मत्थर भएको छ ।

बुधबार सम्पन्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने र सरकारविरुद्ध ल्याउन लागिएको संसद्को विशेष अधिवेशन बोलाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता नगर्ने निर्णय गरेको छ ।

यी दुई निर्णयसँगै नेकपामा देखिएको संकट तत्काललाई टरेको छ । यसबाहेक नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहालले ल्याएको राजनीतिक प्रतिवेदनलाई समेत फिर्ता लिएर संयुक्त प्रस्ताव तयार गर्ने सम्बन्धमा दुई अध्यक्षबीच अनौपचारिक समझदारी भएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता गर्ने र अधिवेशन बोलाउन दर्ता गर्न लागिएको प्रस्ताव रोक्ने निर्णय गरेको नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । स्थायी कमिटी बैठकले पार्टीमा देखिएका समस्या छलफलमार्फत समाधान गरेर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।

यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्