पुस १२ देखि राप्रपाले सरकारविरुद्ध आन्दोलन गर्ने



काठमाडौं पुस २ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही पुस १२ देखि सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ ।

अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले आन्दोलनको कार्यक्रम तय गरेको हो ।

भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या, धर्म परिवर्तनको समस्या समाधान गर्न सरकार असफल एवं उदासीन भएको भन्दै सनातन हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको लागि पहिलो चरणको देशव्यापी जन प्रदर्शन गर्न लागेको राप्रपाले जनाएको छ । राप्रपाले पौष १२ गते ७७ वटै जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने, पुष १२ देखि २१ गतेसम्म जिल्ला सदरमुकाम तथा जिल्लाका शहरहरुमा मोटरसाइकल र्‍याली गर्ने, पौष १५ देखि २५ सम्म जिल्ला सदरमुकाममा जन प्रदर्शन गर्ने राप्रपाले जनाएको छ। त्यस्तै पुसको अन्तिम हप्तादेखि दोस्रो चरणको कार्यक्रम गर्ने बिहीबारको बैठकले निर्णय गरेको छ।

बैठकमा अध्यक्ष त्रय थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको सहभागिता थियो। बैठकले पार्टीको सक्रिय सदस्यता वितरण निर्देशिका, साङ्गठानिक तह निर्वाचन सम्बन्धि नियमावली २०७७ निर्वाचन निर्देशिका तथा निर्वाचन कार्यतालिका शंसोधनसहित पारित गरेको छ । त्यस्तै पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठक पौष ६ र ७ गते काठमाडौंमा बस्ने राप्रपाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्