उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न दबाब



काठमाडौं पुस २ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न दबाब दिन नेताहरूको फोन आउने गरेको बताएका छन् ।

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा बोल्दै उद्योगमन्त्री भट्टले ट्विटरमा किसानलाई न्याय दिनुपर्छ भनेर लेख्ने नेताहरूबाटै उद्योगीलाई गिरफ्तार नगर्न भन्दै फोन आएको बताएका हुन् ।

सामाजिक सञ्जालमा न्यायको वकालत गर्दै उद्योगीलाई कारबाही गर्नुपर्छ भन्ने तर मन्त्रीलाई फोन गरेर कारबाही नगर भन्ने दुई थरि चरित्र देखाउने प्रवृत्तिले समस्या भएको बताए ।

उद्योगीहरु जो भए पनि मन्त्रालयले कारबाहीका लागि कानुनी प्रक्रिया अगाडि बढाएको उनले बताए। उद्योगीको संरक्षण र विकास गर्ने काम उद्योग मन्त्रालयअन्तर्गत पर्ने तर कुनै उद्योगीले अन्याय गर्छ भने त्यसलाई छाड्न नमिल्ने पनि मन्त्री भट्टले प्रष्ट पारे। यसका लागि उद्योग मन्त्रालयसँग ऐन नहुँदा कानुनी दायरामा ल्याउन कठिन भएको पनि मन्त्री भट्टले बताए।

उपभोक्ता हित संरक्षणसम्बन्धी कानुनबाट कारबाही गर्न नमिल्ने पनि प्रष्ट पार्नुभयो । मन्त्री भट्टले माइतीघर मण्डलामा आन्दोलनमा आउने किसानहरूलाई आफूले बिचौलिया नभनेको पनि स्पष्ट पारेका छन् । उद्योगीले आफूलाई भनेको कुरामा मिडियाले ट्विस्टु गरेका कारण बिचौलिया छन् भन्ने कुरा आएको पनि उनले प्रष्ट पारेका छन् ।

तर त्यसैलाई सत्य मानेर राजनैतिक खेती गर्नेहरूले हल्ला गरेको पनि मन्त्री भट्टले बताए। मन्त्रालयले किसानको बक्यौता रकम भुक्तानी गराउन अधिकतम पहल गरिरहेको पनि उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्