नेपाल र बंगलादेशबीच मल आपूर्तिका लागि सम्झौता



काठमाडौं पुस २ ।

नेपाल र बंगलादेशबीच ५० हजार मेट्रिक टन युरिया मल आपूर्तिका लागि ‘जिटुजी’ सम्झौता भएको छ ।

सम्झौता पत्रमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेशनका अध्यक्ष महमद एमिन उल अहसनले ढाकामा बिहीबार हस्ताक्षर गरेका हुन् ।

युरिया मलको अन्तर्राष्ट्रिय फर्मूला मूल्यअनुसार प्रतिमेट्रिक टन अमेरिकी डलर २५९.१९५ मा सम्झौता भएको कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले विज्ञप्तिमार्फत जनाएका छन् ।

उनका अनुसार कृषि सामग्री कम्पनी लिमिटेडले एलसी खोलेको दश दिनपश्चात् मल लोडिङ सुरु हुने सम्झौतामा उल्लेख छ भने ५० हजार मेट्रिक टन मल दुई महिनाभित्र बंगलादेशले उपलब्ध गराइसक्ने छ ।

मन्त्रिपरिषद बैठकले बङ्गलादेश सरकारसँग ५० हजार मेट्रिक टन युरिया मल सरकार सरकार जिटुजी प्रक्रियाबाट खरिद गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको थियो।

प्रतिक्रिया दिनुहोस्