जाडो मौसममा यसरी बनाउनुस् तातो सुप



काठमाडौं उपत्यका संगै देशभर अहिले बढ्दो क्रममा छ । यो मौसममा न्यानो लुगा संगै तातो झोलिलो खाने कुराहरु पनि उत्तिकै आवश्यक छ ।

साथै चिसो मौसममा हाम्रो सरीरलाई आवश्यक पर्ने पानि पनि पनि हामीले पिउँदैनौ त्यो पानिको मात्रा पुर्तिको लागी पनि झोलिलो खानेकुरा खान आवश्यक हुन्छ । जाडोमा ज्यान तताउने गज्जब काइदा हो, तात्तातो सुप । भेज खानुस् वा ननभेज, दुवै विकल्प खुला छन् । सुप बनाउन धेरै मिहिनेत र सामग्री जोरजाम गर्नुपर्दैन । सामान्य सागसब्जी वा मासुको सुप बनाउन सकिन्छ । सुपले जाडोमा शरीरको तापमान सन्तुलनमा राख्छ र पाचन यन्त्रलाई सहज बनाउँछ ।

जाडोयाममा भोक लागिरहन्छ । भोक लागेपिच्छे खाना खाने हो भने मोटोपनको जोखिम बढ्छ । तर, सुप सेवन गर्दा त्यस्तो डर हुँदैन । पछिल्लो समय रेस्टुराँहरूमा चल्ने सुपका रेसिपी धेरै छन् । त्यसमध्येमा पर्छ, तोमयाम सुप । चाइनिज हट एन्ड सावर पनि विश्वका पारखीहरूले रुचाउने परिकार हो । नेपालको रैथाने सुप हो, क्वाँटी । विभिन्न गेडागुडी मिश्रित क्वाँटी स्वादिलो हुन्छ । खसीको खुट्टाको सुप पनि हामी खुबै पिउँछौँ ।

१) थाई तोमयाम सुप

आवश्यक सामग्री

च्याउ ३० ग्राम, कागती एक दाना, कागतीको पात दुइटा, १० देखि १५ ग्राम अदुवा, आधा लिटर पानी, एक चियाचम्चा तोमयाम पेस्ट, एक चियाचम्चा कागतीको रस, सानो एक मुठो धनियाँ । २० ग्राम तामा, दुईवटा हरियो खुर्सानी, एक चियाचम्चा चिल्ली पेस्ट, ६० ग्राम चिकेन या माछा, एउटा गोलभेँडा, एक चियाचम्चा फिस सस, स्वादअनुसार नुन र मरिच ।

विधि

पहिले पानी उमाल्नुपर्छ । त्यसपछि लेमन ग्रास, लेमन पात र अदुवालाई त्यसमा राखिदिनुस् । त्यसलाई केही बेर उमालेपछि बाँकी सामग्री राख्दै जानुपर्छ । अन्त्यमा कागतीको रस र धनियाँ राख्नुस् । सुप तयार हुन्छ । यसलाई भेजमा पनि तयार गर्न सकिन्छ ।

२) चाइनिज हट एन्ड सावर सुप

आवश्यक सामग्री

मसिनो गरी काटेको बन्दा र गाँजर , ६० ग्राम भेडे खुर्सानी, एक चियाचम्चा सोया सस , आधा लिटर पानी, एउटा अन्डा, दुईवटा हरियो खुर्सानी, एक चियाचम्चा चिल्ली पेस्ट, एउटा प्याज, दुई चियाचम्चा टोमाटो केचप, आधा चियाचम्चा कागतीको रस , मसिनो गरी काटेको अदुवा एक चियाचम्चा, दुई टुक्रा च्याउ, एक चियाचम्चा तिलको तेल, काटेको तामा दुई चियाचम्चा, दुई चियाचम्चा कर्न प्लोर, २० ग्राम तोफु, मसिनो गरी काटेको चिकेन ६० ग्राम, स्वादअनुसार नुन र मरिचको धुलो ।

विधि

पहिले पानी तताउनुस् र त्यसमा काटेका भेजिटेबल राख्नुस । त्यसमा अदुवा, नुन, मरिच, टिमुरको धुलो, काटेको खुर्सानी र चिकेन हालेर उमाल्नुस । केही समयपछि सोया सस, चिल्ली पेस्ट, केचप टमाटर राख्नुस् । अन्त्यमा कर्न फ्लोर राखेर हल्का बाक्लो बनाउनुस् । त्यसपछि अन्डा फिट्नुस र कागतीको रस या भिनेगर राख्नुस् । तिलको तेलमा प्याज राखेर मिलाउनुस । सुप तयार हुन्छ ।

३) खसीको खुट्टाको सुप

आवश्यक सामग्री

खसीको खुट्टा दुई पिस, दुई चियाचम्चा पिसेको अदुवा र लसुन, आधा कप मस्याङ, आधा चियाचम्चा गरम मसला धुलो, आधा चियाचम्चा बेसार, आधा चियाचम्चा जिरा, मेथी, दुईवटा तेजपत्ता, डेढ चम्चा तोरीको तेल, एक मुठो हरियो धनियाँ, एउटा प्याज र गोलभेँडा, आवश्यकताअनुसार पानी, स्वादअनुसार नुन र खुर्सानीको धुलो ।

विधि

पहिले प्रेसरकुकरमा तोरीको तेल तताएर त्यसमा मेथी फुराउने । अनि अदुवा, लसुन, तेजपत्ता र प्याज राखेर केहीबेर भुट्ने । त्यसमै काटेको खसीको खुट्टा राखेर चलाउने । त्यसपछि मसला र पानी राखेर उमाल्ने । केही समयपछि मस्याङ राख्ने र प्रेसरकुकर बन्द गर्ने । सात वा आठ सिटी लागेपछि अगोबाट निकाल्ने । त्यसमा धनियाँ राखेपछि खसीको स्वादिलो खुट्टी सुप तयार हुन्छ ।

४) क्वाँटी सुप आवश्यक सामग्री

डेढ कप टुसाएको गेडागुडी, दुई चियाचम्चा पिसेको अदुवा र लसुन, दुईवटा हरियो खुर्सानी, एक मुठो धनियाँ, दुई चियाचम्चा तोरीको तेल, एक चियाचम्चा ज्वानो । आधा चियाचम्चा जिरा र धनियाँको धुलो, एउटा प्याज, गोलभेँडा, आधा चियाचम्चा बेसार, स्वाद अनुसार नुन ।

विधि

पहिले प्रेसरकुकरमा तेल तताउनुस । त्यसमा ज्वानो फुराउनुस् अनि पिसेको अदुवा र लसुन राखेर भुट्नुस । त्यसपछि काटेको प्याज र गेडागुडी राख्नुहोस । त्यसलाई पूर्ण रूपमा भुटेपछि सम्पूर्ण मसला र पानी राखिदिनुस् । पानी उम्लन थालेपछि प्रेसरको ढक्कन लगाइदिनुस । त्यसपछि मन्द आगोमा पाक्न दिनुपर्छ । तीन वा चार सिठी लागेपछि त्यसलाई निकाल्नुस् र धनियाँ राख्नुहोस् । क्वाँटीमा खसीको मासुको मिश्रण गराएर पनि सेवन गर्न सकिन्छ । यस्तो सुप स्वास्थ्यका लागि अति फाइदाजनक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्