उखु किसान ठग्ने ‘साहू’ खोज्न सर्कुलर, दुई दिन बित्यो, प्रहरीले भेटेन



काठमाडौं, पुस ३ । नेपाल प्रहरीले उखु किसानबाट उखु लगेर सोबापतको रकम भुक्तानी नदिने चिनी मिलका ‘साहु’ खोज्न प्रहरी परिचालन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले किसानबाट उखु लगेर ठगी गरी रकम नदिने ‘साहु’ खोज्न सर्कुलर जारी गरे पनि प्रहरीले भने उनीहरूलाई बुधबार र बिहीबार दुई दिन बित्दासमेत भेटेको छैन ।

विभिन्न चार वटा चिनी मिलका सञ्चालकले उखु लगेबापत किसानलाई करिब ७० करोडभन्दा बढी बक्यौता भुक्तानी गर्न बाँकी छ । जसअनुसार लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख, अन्नपूर्ण सुगर मिलले १७ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख र श्री राम सुगर मिलले सबैभन्दा धेरै २६ करोड ७७ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले किसानबाट उखु लगेर रकम भुक्तानी नगर्ने चिनी मिलका सञ्चालकलाई पक्राउ गर्न सर्कुलर भएको तर बिहीबार रातिसम्म कोही पनि पक्राउ नपरेको र खोजतलास जारी रहेको बताए ।‘प्रहरीले बुधबारदेखि नै खोजी गरिरहेको छ तर अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन्, खोजतलास जारी छ,’ प्रहरी प्रवक्ता कुँवरले बताए ।

उनका अनुसार श्रीराम सुगर मिल रौतहट, अन्नपूर्ण सुगर मिल सर्लाही, इन्दिरा सुगर मिल नवलपरासी र लुम्बिनी चिनी उद्योग नवलपरासीका सञ्चालक गरी ६ जनालाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी पाएको छ ।

गृह मन्त्रालयले गत मंगलबार नै नवलपरासी, रौतहट र सर्लाही जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई किसान ठग्ने सञ्चालकलाई खोज्न निर्देशन दिएको थियो । प्रहरीले उनीहरूलाई पक्राउ गरी ठगी मुद्दा चलाउने बताएको छ । त्यसका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूलाई निर्देशन भइसकेको छ ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्