टीकापुर घटनामा उच्च अदालतको फैसलाविरुद्ध थरुहट थारुवानले आन्दोलन गर्ने



धनगढी पुस ३ ।

उच्च अदालत दिपायलले गरेको फैसलाविरुद्ध थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलन गर्ने भएको छ ।

बिहीबार उच्च अदालत दिपायलले कैलालीको टीकापुर घटनामा मुछिएका लक्ष्मण थारुलाई जन्मकैदको फैसला गरेपछि मोर्चाले आन्दोलन गर्ने घोषणा गरेको हो । मोर्चाले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मोर्चाका संयोजक माधव थारुले अधिकारको आन्दोलनलाई राज्यले राजनीतिक पूर्वाग्रह राखी अपराधी बनाएको बताए ।

मोर्चाले अदालतको फैसलाप्रति खेद प्रकट गरेको छ । जनता समाजवादी पार्टी नेपालका नेता तथा पूर्व सांसद कृष्णकुमार चौधरी कुन्दनले टीकापुरमै भएको भदौ ८ गतेको घटनालाई पनि राज्यले अपराध ठहर गर्नुपर्ने बताए । उनले भने, ‘भदौ ७ गतेको घटनालाई अदालतले अपराध मानेको छ भने भदौ ८ गते कर्फ्यु लागेको समयमा थारुहरुका घर खोजीखोजी आगलागी गरिएका छन् । त्यो घटनाका दोषीहरुलाई किन अहिलेसम्म कारबाही भएन र?’

उनले राज्यमा दोहोरो कानुन लागू भइरहेको आरोप लगाए । उनले अदालतको फैसलाले न्यायको आवाजलाई दबाउने प्रयास गरेको टिप्पणीसमेत गरे । थारुको अधिकारका लागि आवाज उठाइरहेका गयाप्रसाद कुश्मीले अदालतको फैसलाले दीर्घकालीन द्वन्द्व निम्त्याउने बताए ।

उनले प्रश्न गरे, ‘टीकापुर घटना आपराधिक हो भने २००७ सालको आन्दोलन, सशस्त्र जनयुद्व, झापा घटना लगायतका घटना किन आपराधिक भएनन् ? ’ उनले टीकापुर घटनालाई राजनीतिक रुपमा समाधान गरी सम्भावित जोखिमबाट राज्यलाई बचाउन पनि आग्रह गरे ।

कोरोना भाइरस कोभिड–१९ यता शान्त रहेको थरुहट आन्दोलन अहिले उच्च अदालतको फैसलापछि थप कडा बन्ने मोर्चाको चेतावनी छ । बिहीबार उच्च अदालत दिपायलले सांसद रेशम चौधरीको मुद्दामा जिल्ला अदालतकै फैसला सदर गर्दै जन्मकैदको सजाय सुनाएको छ । अदालतले चौधरीसहित सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालतको आदेश सदर गरेको हो ।

अदालतले लक्ष्मण थारुलाई पनि जन्मकैदको सजाय सुनाएको छ । यसअघि लक्ष्मण थारुलाई भने जिल्ला अदालत कैलाली धरौटीमा छोडेको थियो ।

प्रतिक्रिया दिनुहोस्