कोभिडविरुद्धको भ्याक्सिनका लागि स्रोतको अभाव हुँदैन : अर्थमन्त्री पौडेल



काठमाडौं पुस ३ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड १९ विरुद्धको भ्याक्सिन आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले कोभिड १९ को लक्षण देखिएका नेपालीको निस्शुल्क परीक्षण र उपचार गरे जसरी नै भ्याक्सिनको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताए ।

ग्लोबल मार्केटमा भ्याक्सिन उपलब्ध हुनासाथ नेपालमा आयात गर्नका लागि तयारी भइरहेको उनले जानकारी दिए। अर्थमन्त्री पौडेलले मापदण्ड अनुसार कोभिड १९ विरुद्ध फ्रन्टलाइनमा खटिएका र वृद्धवृद्धालाई प्राथमिकता दिने र त्यसपछि सबैलाई भ्याक्सिन उपलब्ध गराएर कोभिडविरुद्धको लडाइलाई निर्णायक बनाउने दिशामा सरकार केन्द्रित रहेको उल्लेख गरे।

अर्थमन्त्री पौडेलले कोभिड १९ बाट प्रभावित अर्थतन्त्र र जनजीवनलाई पुरानै लयमा फर्काउन र चलाउनमान बनाउन सरकार लागी परेकोसमेत उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्