संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नभए थप एक्सनमा जान्छौं : प्रचण्ड



काठमाडौं पुस ३ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नभए थप एक्सनमा जाने बताएका छन् ।

प्रदेश १ का प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरुको भेलालाई सम्बोधन गर्दै प्रचण्डले अध्यादेश फिर्ता गर्ने पार्टी निर्णय भएकाले कार्यान्वयनमा ढिलाइ गर्न नहुने बताएका हुन् ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग अध्यादेश फिर्ता गर्ने बाहेक अर्को विकल्प नभएको प्रचण्डको भनाइ थियो । ओली पार्टी विभाजन गर्ने योजनाका साथ एकपछि अर्को कदम चालिरहेकाले अध्यादेश पनि ल्याइएको प्रचण्डले बताए ।

तर, पार्टी जोगाउँदै ओलीले चाल्ने गलत कदमविरुद्ध जुनसुकै विकल्पमा जान आफूहरु पनि तयार रहेको प्रचण्डले बताए । दुई मिल्दा सात नेता एकातिर हुने अवस्था तोडेर आफू आठ जना बन्न तयार भएको प्रचण्डले बताए ।

लामो समय सैद्धान्तिक विषयमा बोलेका प्रचण्डले पूर्वएमाले र पूर्वमाओवादी भन्ने सोंच नै नराख्न आग्रह गरेका थिए । पेरिसडाडाँमा भएको भेलामा प्रदेश १ का प्रचण्ड र माधव नेपाल पक्षका जिल्ला अध्यक्ष, सचिव र राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्