काठमाडौंमा सुकुम्बासीलाई चार आना जग्गा



काठमाडौं, पुस ४ । सरकारले भूमिहीन तथा सुकुमबासीलाई जग्गा वितरणसम्बन्धी नियमावली जारी गरेको छ। सोअनुसार उनीहरूले काठमाडौंलगायत सहरी क्षेत्रमा १ सय ३० वर्गमिटर (करिब ४ आना) जग्गा आवासीय प्रयोजनका लागि निःशुल्क पाउने भएका छन्।

भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा वितरणसम्बन्धी मापदण्ड तय गर्न मन्त्रिपरिषद्ले भूमि सम्बन्धी नियमावली १८औ संशोधन पास गरेको हो।

उक्त नियमावली आइतबार या सोमबार राजपत्रमा प्रकाशन गर्ने तयारी भएको भूमि व्यवस्था मन्त्रालय उच्च स्रोतले जनाएको छ। उक्त नियमावली लामोसयमसम्म कानुन मन्त्रालयमा रोकिएको थियो। मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार सुकुमबासी तथा भूमिहीनलाई वितरण गरिने जग्गाको क्षेत्रफल सहरी र ग्रामीण क्षेत्रमा फरकफरक मापदण्ड बनाइएको छ।

आवासीय प्रयोजनका लागि सहरी क्षेत्रमा १ सय ३० वर्गमिटर तथा ग्रामीण क्षेत्रमा ३ सय ४० वर्ग मिटर ९१० आना० मापदण्ड कायम गरिएको छ। काठमाडौं महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाले ओगेटेको क्षेत्रलाई सहरी क्षेत्र मानिएको छ। गाउँपालिकाले ओगटेको क्षेत्रलाई ग्रामीण क्षेत्र मानिएको छ।

नियमावलीमा भूमिहीन तथा सुकुमबासीलाई सरकारले निःशुल्क जग्गा दिने व्यवस्था गरिएको छ। तर अव्यवस्थित बसोबासीले भने जग्गाको लालपुर्जा पाएबापत तोकिएको शुल्क तिर्नुपर्छ।

नियमावलीमा अव्यवस्थित बसोबासीले कृषि प्रयोजनका लागि सहरी क्षेत्रमा २ हजार वर्ग मिटर तथा पहाड र हिमालमा ३ हजार वर्गमिटर जग्गा पाउने छन्। यसैगरी तराईमा अव्यवस्थित बसोबासीले १० हजार वर्गमिटर (डेढ विगाहा)सम्म जग्गा पाउनेछन्। सुकुमबासी तथा भूमिहीनले सहरी क्षेत्रम कृषि प्रयोजनका लागि जग्गा पाउने छैनन्। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्