नेकपा विवाद, शीर्ष नेताहरु नियमित छलफलमा



काठमाडौं, पुस ५ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानका लागि शनिबार शीर्ष नेताहरूका बीचमा भेटघाट तथा छलफलले तीव्रता पाएको छ । छलफललाई तीव्रता दिँदै नेताहरूले सहमतिको प्रयास जारी राखेका छन् ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको संकट समाधान गर्न सहमति गरेरै अघि बढ्नुपर्नेमा जोड दिँदै आएका छन् । प्रधानमन्त्री ओलीले सहमतिको मिलनबिन्दु खोज्ने उद्देश्यले शनिबार अर्का अध्यक्ष पुष्पकमल दाहालसँग दाहालकै निवास खुमलटारमा पुगेर सघन छलफल गरेका छन् ।

यसअघि दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा नै नियमित छलफल हुँदै आइरहेकामा प्रधानमन्त्री ओली शनिबार पहिलोपटक खुमलटार पुगेर अध्यक्ष दाहालसँग छलफल गरेका हुन् । छलफलका क्रममा अध्यक्षद्वय ओली र दाहाल पुरानै अडानमा अडिग भएपछि सहमति भने हुन नसकेको बताइएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालसँग आफ्नो राजनीतिक प्रस्ताव फिर्ता लिएर सहमति गरेर अगाडि बढ्नुपर्ने अडान दोहो(याएका छन् तर दाहालले प्रधानमन्त्री ओलीको प्रस्ताव स्वीकार गर्न नसक्ने र बैठकबाटै टुंगो लगाउनुपर्ने बताए ।

पार्टीभित्रको विवाद समाधान गर्ने उद्देश्यले ओली र दाहालबीच छलफल चल्दै गर्दा उपाध्यक्ष वामदेव गौतमसमेत खुमलटार पुगेपछि तीन नेताका बीचमा केही समय छलफल भएको नेकपा स्रोतले जनाएको छ । उपाध्यक्ष गौतमले पछिल्लो समय पार्टी एकताका लागि दुई अध्यक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिँदै आएका छन् ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्